काठमाडौं । हिमालयन बैंकले वाणिज्य बैंकहरूसँग गाभ्ने/गाभिने (मर्जर) प्रक्रियामा सहभागी हुन अरू बैंकसँगको छलफललाई अघि बढाएको छ । सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा गठित मर्जर समितिले विभिन्न बैंकहरूसँग चरणबद्ध रूपमा छलफल अघि बढाएको छ ।
सञ्चालक थापा अस्वस्थ भएकाले अहिले छलफल रोकिएको छ । बैंक सञ्चालक समितिले मर्जर समितिलाई ३ वटा नाम सञ्चालक समितिमा पेश गर्न भनेको छ । मर्जर समितिले सिफारिस गरेको नामभित्र नै बैंक मर्जर प्रक्रिया अघि बढ्ने बताइएको छ ।
हिमालयनले मर्जर प्रक्रियामा सकेसम्म ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने नीति’ अख्तियार गरिरहेको छ । अर्थात् हिमालयनले वाणिज्य बैंकसँगै मर्ज गर्न तयार रहे पनि आफ्नो नाम गुमाउन चाहेको छैन ।
यो पनि पढ्नुस
नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंक मर्जरमा मनोजबहादुर श्रेष्ठ तगारो
किनभने हिमालयन बैंकको नाम नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर तथा संस्थापक पूर्व अर्थसचिव हिमालय शमशेर राणाको नामबाट राखिएको छ । पहिलो अर्थसचिव र गभर्नरसँग जोडिएकाले नाम सकेसम्म नचलाउने हिमालयनका सञ्चालकहरू बताउँछन् ।
हिमालयन स्रोतकाअनुसार मर्जर समितिले पहिलो चरणमा नेपाल इन्भेष्टमेन्ट बैंक र बैंक अफ काठमान्डू (बीओके) सँग समानान्तर रूपमा छलफल अघि बढाएको छ ।
हिमालयन सातौं वाणिज्य बैंकका रूपमा २०४९ सालमा उदाएको हो भने नेपाल इन्भेष्टमेन्ट (इन्डोस्वेज) बैंकका रूपमा २०४२ सालमै कारोबार थालेको हो । फ्रान्सको क्रेडिट एग्रिक्रोलले स्वामित्व बिक्री गरेपछि इन्डोस्वेजको स्वामित्व पाँडे समूहले खरिद गरेको हो ।
तर, नेपाल इन्भेष्टमेन्ट बैंक पनि पृथ्वीबहादुर पाँडेको नामसँग जोडिएर आउँछ । कारोबार र लिगेसी तथा आकारका आधारमा हिमालयनभन्दा इन्भेष्टमेन्ट अब्बल मानिन्छ । त्यसले गर्दा इन्भेष्टमेन्टले पनि सकेसम्म आफ्नो अस्तित्व गुमाउन चाहँदैन ।
खासगरी हिमालयन र इन्भेष्टमेन्ट बैंकमा कतिपय लगानी एउटै समूहको छ । दुवै बैंकका लगानीकर्ताबीच पारिवारिक सम्बन्ध पनि छ । इन्भेष्टमेन्ट बैंकले यसअघि नै धेरै वित्तीय संस्थाहरूलाई आफूमा गाभिसकेको छ । एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभिसकेको छ । सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने अन्तिम तयारीमा छ ।
अहिलेसम्म गाभ्ने/गाभिने प्रक्रियामा सहभागी नभएको हिमालयनले यसपटक आफंैले चासो राखेको छ । खासगरी हिमालयनमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी)ले खरिद गर्ने प्रक्रिया रोकिएपछि मर्जरमा जान अग्रसर भएको हो ।
सीडीसीको प्रवेश हुने भन्दै मर्जरको काम अवरुद्ध थियो । हबिबको हिस्सा नेपाली लगानीकर्तालाई बेच्न पनि छलफल चलिरहेको छ ।
उता, बीओके अर्को वाणिज्य बैंक लुम्बिनी र नवदुर्गा फाइनान्ससँग मर्ज भएको संस्था हो । हिमालयन र बीओके केही समय चीनमासँगै मुद्दामामिला गरेका बैंक हुन् ।
मेलम्ची खानेपानी आयोजनामा चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टी दिएका हिमालयन र बीओके एकीकृत हुँदा बीओके नाम गुमाउन तयार हुनसक्छ ।
किनभने बीओकेको नामसँग खास लगाव छैन । बीओकेले यसअघि पनि लुम्बिनीसँग मर्ज गर्दा बैंक अफ काठमान्डू लुम्बिनी बनाइएको थियो । पछि लुम्बिनी हटाइएको थियो ।
त्यसो त सिभिल बैंकले यसअघि नै हिमालयन बैंकसँग मर्ज गर्न प्रस्ताव पठाएको थियो । तर, सिभिलसँग मर्जर प्रक्रियालाई हिमालयनले खासै चासो दिएको छैन । समकक्षी बैंकसँग मर्ज गर्दा सिनर्जी प्राप्त हुने विश्वासमा हिमालयनको छ ।
सिभिल वाणिज्य बैंक समूहमा सबैभन्दा कमजोर रूपमा प्रस्तुत भएको मानिन्छ । यद्यपि सिभिलसँग मर्ज गरेमा हिमालयनले आफ्नो नाम कायम राख्न सम्भव छ । हिमालयन मुख्य हिस्सा रहेको कर्मचारी सञ्चय कोषको लगानी सिभिलमा पनि उल्लेख्य छ ।
सरकारले चालू वर्षको बजेटमा पनि गाभ्ने÷गाभिने प्रक्रियालाई निरन्तरता दिइरहेको छ । मौद्रिक नीतिले गाभ्ने/गाभिने बैंकलाई विशेष सुविधा घोषणा गरेको छ । गाभ्ने÷गाभिने प्रक्रियामा संलग्न हुँदा पाइने सुविधा उपयोग गर्न हिमालयन अग्रसर देखिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले बैंकहरू मर्जरको आवश्यकतामा जोड दिँदै आएका छन् । यद्यपि उनले पहिलो चरणमा स्वेच्छिक मर्जर भन्दै आएका छन् ।
केन्द्रीय बैंकले सुरुमा स्वेच्छिक भन्ने र केही समय हेर्ने तर, बैंकहरूले मर्जरमा जान आनाकानी गरे दबाबमूलक रूपमै मर्जमा जान बाध्य पार्ने नीति अख्तियार गरिरहेको छ ।
अहिलेसम्म वाणिज्य बैंकमा बाध्यता आइलागेको छैन । त्यसैको कडीका रूपमा केन्द्रीय बैंकले पहिलो चरणमा बैंक तथा वित्तीय संस्थामा एकाघर लगानीको खोजी गरिरहेको छ । हिमालयन र लक्ष्मी बैंकमा पनि एकाघर लगानीको आधारहरू भेटिन्छ ।
मर्जर समितिका अनुसार इन्भेष्टमेन्ट र बीओकेसँगको कुरा टुङ्गो लागेपछि अर्को बैंकसँग छलफल प्रक्रिया अघि बढ्ने छ । हिमालयनलाई मर्जमा जान पनि दबाब छ ।
किनभने पूर्वमन्त्री थापाको संयोजकत्वमा मर्जर समिति बनेको र अर्को बैंक गाभ्न नसक्ने थापाको कार्यक्षमतामा पनि प्रश्न उठ्ने भएकाले कुनै पनि मूल्य हिमालयन मर्जमा जाने बताइएको छ ।
बीओकेले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्भेष्टमेन्ट र हिमालयनले भने अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्टको चुक्तापुँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । यस्तै हिमालयनको ९ अर्ब ३७ करोड र बीओकेको ८ अर्ब ५४ करोड रुपैयाँ छ ।