काठमाडौं । ऋणमुक्त भएपछि शिवम् सिमेन्टस् लिमिटेडले सेयरधनीलाई दिने लाभांश बढाएको छ । कम्पनीको बुधबार बसेको ८० औं सञ्चालक समिति बैठकले प्रस्तावित लाभांश पारितका लागि साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।
गत असारमा कम्पनी ऋणमुक्त भएको हो । शिवम्ले हालसम्मकै उच्च नगद लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २४.२१ रुपैयाँ लाभांश दिने घोषणा गरेको छ ।
यो पनि पढ्नुस
शिवम् सिमेन्टले सेयरधनीलाई २४.२१ रुपैयाँ नगद लाभांश दिने
यो वर्ष कम्पनीले १ अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश दिनेछ । प्रस्ताव गरिएको नगद लाभांश संस्थाले हालसम्म वितरण गरेको भन्दा सबैभन्दा बढी हो । नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले नगद लाभांश पाउने छन् ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७४/०७५को नाफाबाट बराबर अर्थात १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यो पनि पढ्नुस
शिवम् सिमेन्ट बन्यो ऋणमुक्त, सेयरधनीले पाउने लाभांश बढ्ने
गत आर्थिक वर्षमा शिवमले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो । ४५ करोड रुपैयाँ कम हुँदा पनि सेयरधनीले पाउने लाभांश बढेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कोरोना भाइरस महामारीले लामो समयसम्म सिमेन्ट उत्पादन र बिक्री वितरण ठप्प भएपछि कम्पनीको आम्दानीमा असर पर्दा नाफामा गिरावट आएको हो । शिवमले सिमेन्ट कारखाना स्थापना गर्न लिएको सबै कर्जा चुक्ता गरिसकेको छ ।
अब शिवम् ऋणमुक्त कम्पनी भएको छ ।उद्योग ऋणमुक्त हुनसाथ लगानीकर्ताले पाउने लाभांश बढेको छ । यस्तै आम्दानीबाट थप लगानी विस्तार गर्न उद्योगलाई बाटो खुलेको छ ।
शिवम्ले नेपाल बैंकको अगुवाइमा नबिल बैंक, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ७ अर्ब रुपैयाँ ऋण लिएको थियो । सञ्चालनमा आएको ७ वर्षको अवधिमा सबै ऋण चुक्ता गरिसकेको छ ।
शिवम्को लगानी चिनियाँ कम्पनी होङसी शिवम् सिमेन्ट पनि छ । होङसी मा शिवमको ३० प्रतिशत लगानी छ । होङसीले ऋण चुक्ता गरेपछि शिवमको आम्दानी बढ्ने र सेयरधनीले बढी प्रतिफल पाउने छन । केही वर्षभित्र होङसीले ऋण चुक्ता गर्ने छ ।
बजारमा धेरै कम्पनी आएपछि कडा प्रतिस्पर्धाले गर्दा नाफामा केही असर परेको छ । यस्तै कोरोना महामारीले यो वर्ष र चालु आर्थिक वर्ष आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ ।
दोस्रो बजारमा सेयर मूल्य ७५८ रुपैयाँ छ । यस्तै बजार पूँजीकरण बढेर ३३ अर्ब ३५ करोड २० लाख रुपैयाँ पुगेको छ ।चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ ।