अपी पावरले ४० मेगावाटको अपर चमेलियाको थाल्यो निर्माण, २० महिनामा सक्ने लक्ष्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार,०९:१२:PM  
अपी पावरले ४० मेगावाटको अपर चमेलियाको थाल्यो निर्माण, २० महिनामा सक्ने लक्ष्य

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ ।

मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गरे ।

निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए । आयोजनाको कूल लागत ७ अर्ब ४० करोड रुपैयाँ छ । 

सो आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् ।

सञ्चालक त्रितालका अनुसार बैंक तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ स्वपूँजी लगानी हुने जनाइएको छ ।

शिलान्याससँगै आयोजनाको संरचना निर्माणको काम शुरु गरिएको छ । २०५ मिटर हेड रहेको सो आयोजनाका लागि ३.२ मिटर व्यास (डायमिटर) को करिब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।

अपी हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत् गृहमा खसालिनेछ । 

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । अपीले निर्माण थालेको आयोजना विद्युत् प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ ।

बलाँच सबस्टेसन चालू अवस्थामा रहेकाले विद्युत् जोड्न कुनै समस्या नहुने त्रितालले बर्ता । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६.५ मेगावाट पुग्नेछ । 

सो अवसरमा गाउँपालिका अध्यक्ष धामीले आयोजना निर्माणमा कुनै व्यवधान आउन नदिइने प्रतिबद्धता व्यक्त गरे। “आयोजना निर्माणमा कुनै समस्या हुन दिइने छैन”, उनले भने, “आयोजना सञ्चालन भएपछि यहाँका नागरिकले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउँछन् । आयोजना निर्माणमा पूर्ण सहयोग पुर्याउँछौँ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top