काठमाडौं । कोरोना महामारीले अन्य व्यवसायमा शिथिलता आउँदा पनि खाद्यान्न व्यापारमा कुनै कमी नआएले अहिले त्यसको डिलरसिप माग्नेको भीड छ ।
आफूसँग भएको पुरानो व्यवसायलाई बन्द गरेर वा त्यो डिलरसिप छाडेर खाद्यान्नको व्यापार सुरु गर्नेहरू दिन प्रतिदिन बढ्दै गएको सम्बद्ध उद्योगीहरू बताउँछन् ।
‘खासगरी, हाडवेयर व्यापार गरिरहेकाहरू त्यसलाई बन्द गरेर खाद्यान्नतिर आकर्षित भएका छन्,’ वीरगन्जका खाद्य उद्योगीले भने, ‘६ महिनादेखि निर्माणजन्य सामग्रीको व्यापार ठप्प भएको र बैंकको ब्याज, किस्ता तथा कर्मचारीलाई तलबसमेत दिन नसकेपछि व्यवसाय नै परिवर्तनको मोडमा पुगेका छन् ।’
हाडवेयर व्यापारमा मार्जिन धेरै हुन्छ । त्यसको तुलनामा खाद्यान्नमा मार्जिक एकदमै कम हुन्छ । त्यही भएर खाद्यान्नको व्यापार गर्न मान्छेहरू इच्छुक हुँदैनथे । तर, अहिले बरु थोरै मार्जिन लिएर काम गर्ने तर खाद्यान्नकै व्यापार गर्ने भन्दै आउने गरेको उद्योगीहरू बताउँछन् ।
‘खाद्यान्नको व्यापार भनेको भोल्युममा हुन्छ,’ ती उद्योगीले भने, ‘त्यही भएर विगतमा व्यापारीहरू खाद्यान्नको व्यापारमा त्यति इच्छुक हुँदैनथे ।’ कोरोनाका कारण सबै व्यवसाय सुस्त बने पनि खाद्यान्नको व्यापारमा कुनै कमी नआएपछि अन्य डिलर छाडेर खाद्यान्नको माग्न आउनेको संख्या दिनदिनै बढ्दै गएको पूर्वका एक खाद्य उद्योगीले बताए ।
दिगो तथा कहिले पनि मागमा कमी नआउने भएपछि अहिले अधिकांश व्यापारीको रोजाइमा खाद्यान्नको व्यापार पर्न थालेको छ । ‘पहिले–पहिले नाफा कम हुने भन्दै कसैले पनि खाद्यान्नको व्यापार गर्न चाहँदैनथे,’ ती उद्योगीले भने, ‘तर, अहिले करोडांै रुपैयाँ लगाएर खोलेको हाडवेयर पसल बन्द गरेर भए पनि खाद्यान्नको डिलर लिन दौडधूप छ ।’
देशभित्र आइपरेका जस्तोसुकै महामारीमा पनि खाद्यान्नको माग उही गतिमा रहन्छ । बरु बढ्ला । तर, घट्दैन । त्यही भएर यो क्षेत्रमा नयाँ–नयाँ व्यापारी आइरहेका छन् ।
कोरोना संक्रमण रोक्न सरकारले सीमा नाकामा कडाइ गरेपछि देशभित्रका खाद्य उद्योगीलाई त्यसको प्रत्यक्ष फाइदा पुगेको छ । खुला सीमानाका कारण ठूलो परिमाण्मा चोरी पैठारी भएर खाद्य सामग्री नेपाल भित्रिन्थ्यो । तर, अहिले त्यो क्रम पूर्णरूपमा रोकिएको र त्यसको प्रत्यक्ष फाइदा व्यापारी र अप्रत्यक्ष फाइदा सरकारलाई पुगेको छ ।