काठमाडौं । नेपाल एसबीआई बैंकले सबैभन्दा महँगो ब्याजदरमा घर तथा सवारी साधन कर्जा ल्याएको छ भने सबैभन्दा सस्तो ब्याजदर नेपाल इन्भेष्टमेन्ट बैंकले ल्याएको छ ।
नेपाल एसबीइआई बैंकले घर तथा सवारी कर्जाका लागि सार्वजनिक गरेका ब्याजदर १४ प्रतिशत छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा सस्तो ७ दशमलव ९९ प्रतिशत ब्याजमै घर तथा सवारीसाधान कर्जा दिने उल्लेख गरेको छ । यद्यपि, नेपाल इन्भेष्टमेन्टको अधिकतम ब्याजदर भने १३ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट फिक्स्ड ब्याजदर लागू गर्न बैंकहरुलाई परिपत्र गरेपछि नेपाल एसबीआईले सबैभन्दा बढी ब्याजदर फिक्स्ड गरेको हो भने नेपाल इन्भेष्टमेन्ट बैंकले तल्लो तहको ब्याजदर सबैभन्दा कम सार्वजनिक गरेको हो ।
राष्ट्रिय बाणिज्य बैंकः राष्ट्रिय बाणिज्य बैंकले कर्जाको अवधि हेरिकन ९ देखि ११ प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ । १५ वर्षसम्मको घरकर्जामा ११ प्रतिशत र ७ बर्षसम्मको गाडीको कर्जामा ९।३० प्रतिशत ब्याजदर लिने भएको छ ।
त्यसैगरी नेपाल बैंकले अवधि हेरिकन घरजग्गा र गाडी खरिद गर्नका लागि ९.३५ प्रतिशतदेखि १३.९३ प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले ५ बर्षसम्मका लागि घर र सवारी खरिद गर्न १०.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । यस्तै, ७ बर्षसम्मको गाडीको कर्जामा ११.७५ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको घरकर्जामा १३.७५ प्रतिशत स्थिर ब्याजदर लिनेछ ।
कृषि विकास बैंकले पनि ९.७५ प्रतिशतदेखि १२ प्रतिशतसम्म घरकर्जा र अटोकर्जाको स्थिर ब्याजदर तोकेको छ । १० वर्षभन्दा बढी अवधिको घरकर्जा लिँदा ब्याज ११.२५ प्रतिशत पर्न आउँछ ।
नबिल बैंकले १५ वर्षसम्मको घरकर्जामा ११ प्रतिशत ब्याजदर लिने भएको छ । एनएमबि बैंकले कर्जाको अवधि हेरिकन ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको एनएमबि बैंकले जनाएको छ । १५ बर्षसम्मको घरकर्जामा १२.२५ प्रतिशत, तीन वर्षभन्दा बढीको सवारी कर्जामा १० प्रतिशत ब्याजदर तोकिएको छ । यदि बिजुली कार किनेमा ९.३० प्रशितश ब्याजदरमै सवारी कर्जा पाइनेछ ।
माछापुच्छ्रे बैंकले ५ वर्षसम्मको घर र सवारी कर्जामा ९.८९ प्रतिशत, १० वर्षभन्दा माथिको घरकर्जामा ११.८९ प्रतिशत, १० वर्ष अवधिको सवारी कर्जामा १०.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको माछापुच्छ्रे बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले १५ वर्षभन्दा माथिको घरकर्जा र ५ वर्षभन्दा माथिको अटोकर्जाको स्थिर ब्याजदर ११.९९ प्रतिशत तोकेको छ ।
सिद्धार्थ बैंकले १० वर्षभन्दा बढी अवधिको घरकर्जाको स्थिर ब्याजदर १०.७५ प्रतिशतसम्म तोकेको छ । यस्तै, बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशत ब्याजदरमा दिनेछ ।
बैंक अफ काठमाण्डूले १५ वर्षसम्मको हाउजिङ ऋण लिँदा ११.९८ प्रतिशत र सवारी कर्जा लिँदा ११ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।
सनराइज बैंकले अवधि हेरिकन सनराइज बैंकले १०.३० प्रतिशतदेखि १३.३० प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ । १५ वर्षसम्मको घरकर्जा र ८ बर्षसम्मको सवारी कर्जा लिँदा ११.३० प्रतिशत ब्याज लाग्नेछ ।
सानिमा बैंकले ३ वर्षभन्दा माथिको कर्जामा १३ प्रतिशत ब्याजदर लिने भएको छ । सेञ्चुरी बैंकले १० वर्षभन्दा माथिको घरकर्जा १२.७४ प्रतिशत र ७ वर्षसम्मको निजी सवारी खरिद गर्न १२.२४ प्रतिशत ब्याजदरमा कर्जा पाउने बैंकले जनाएको छ । यो बैंकले ११.४९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ ।
प्राइम कमर्सियल बैंकले १०.३० प्रतिशतदेखि १२.३० प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ । नेपाल बंगलादेश बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ । २० वर्षसम्मको घरकर्जाको ११.४९ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।