काठमाडौं । वर्षौंदेखि घाटामा रहेका ब्रोकर कम्पनीहरु पनि करोडौं रुपैयाँमा बिक्री हुन थालेका छन् । संसदीय समितिले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन रोक लगाउनुका साथै सरकारले पनि नयाँ लाइसेन्स नखुलाएपछि वर्षौंदेखि घाटामा रहेका ब्रोकर कम्पनीहरु अहिले धमाधम करोडौं मूल्यमा बिक्री हुन थालेका हुन् ।
केही समयअघि मात्रै व्यवसायी बालकृष्ण शिवाकोटीसहितको टिमले वर्षौंदेखि घाटामा रहेको अरुण सेक्युरिटी प्रालिलाई करोडौं रुपैयाँमा खरिद गरेको छ । त्यो कम्पनी वर्षौंदेखि घाटामा थियो । घाटामा रहेको कम्पनी पनि अहिले करोडौं मूल्यमा बिक्री भएको एक ब्रोकर सञ्चालकले क्यापिटललाई बताए ।
‘हाल देशभर ५० वटा ब्रोकर कम्पनी छन्,’ ती सञ्चालकले भने, ‘त्यसमध्ये ६० देखि ७० प्रतिशत ब्रोकर कम्पनी घाटामा छन् । तैपनि चलिरहेका छन् । नाफा नभए पनि लाइसेन्स होल्ड गरिरहने र महँगो मूल्यमा किनबेच हुन्छ ।’
सरकारले बेला–बेलामा नयाँ ब्रोकर लाइसेन्स खुलाएको भए घाटामा रहेको कम्पनीलाई करोडौं रुपैयाँ हालेर किन्नुपर्ने अवस्था आउँदैनथ्यो । त्यसैगरी, बैंकलाई ब्रोकर लाइसेन्स खुलाइदिएको भए पनि यो विकृत्ति अन्त्य हुने ती सञ्चालक बताउँछन् ।
‘आफ्नो मःम पसल छेउमा नयाँ म.म पसल खुल्छ भन्ने चिन्ताबाट ब्रोकर कम्पनीका सञ्चालकहरु ग्रसित छन्,’ अर्का एक ब्रोकर सञ्चालकले भने, ‘जति नयाँ आउँछन्, त्यही आफू निखारिन पाउँछु भन्नेभन्दा पनि नयाँलाई आउनै नदिने र एकाधिकार कायम राख्न खोज्ने ब्रोकरको ताँती छ ।’
यदि सरकारले बैंकलाई ब्रोकर लाइसेन्स खुलाइदिने हो भने हाल भएका ब्रोकर कम्पनीको सेवा पनि सुध्रिने उनीहरु बताउँछन् । ‘तर, केही ब्रोकर सञ्चालक यस्ता छन्, नयाँ कम्पनीलाई आउनै दिँदैनन्,’ ती सञ्चालकले भने, ‘लगानीकर्तालाई सर्वोपरी ठान्ने हो भने बैंकलाई अनिवार्य रुपमा ब्रोकर लाइसेन्स खुलाउनुपर्छ ।’
ब्रोकर सञ्चालक संगठित रुपमै बैंकलाई लाइसेन्स दिनबाट रोक्न संसदीय समितिदेखि नियामक निकायसमक्ष लविङमा छन् । ब्रोकर सञ्चालकको दरिलो लविङकै कारण बैंकले ब्रोकर लाइसेन्स पाएका छन् न त नयाँ ब्रोकर लाइसेन्स नै खुला गरिएको छ ।
स्रोतका अनुसार संसदीय समिति र सरकारले तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै यो क्षेत्रमा देखिएको ९० प्रतिशत विकृत्ति आफै अन्त्य भएर जान्छ ।