पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराको मूल संरचना पुस महिनाभित्र सम्पन्न गर्ने बताएका छन्।
उनले यहि आर्थिक वर्षभित्र मूलभूत रुपमा पुनर्निर्माणका कार्यहरु सम्पन्न गर्ने जनाएका छन्।
‘हामीले यहीँ मंसिर महिनाभित्र सिंहदरबारको मूख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ ज्ञवालीले बुधबार पुर्नर्निमित रानीपोखरी उद्घाटन कार्यक्रममा भने, ‘धरहराको सत्रौँ तल्लाको कार्य आजै सम्पन्न हुनेछ र यही पौष महिनाभित्र सम्पूर्ण २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ।’
उनका अनुसार पुनर्निर्माण गर्नुपर्ने करिब ८ लाख नीजि घरहरु मध्ये करिब ७६ प्रतिशत सम्पन्न भएको छ भने करिब १६ प्रतिशत निर्माणाधिन अवस्थामा छन्।
‘विद्यालय तर्फ ८० प्रतिशत, स्वास्थ्य संस्था तर्फ ५८ प्रतिशत, सरकारी भवन तर्फ ९० प्रतिशत र पुरातात्विक सम्पदा तर्फ ५० प्रतिशत प्रगति हासिल भैसकेको छ भने बाँकी पुनर्निर्माण भैरहेका छन्,’ उनले भने।
ज्ञवालीले रानीपोखरीको पुनर्निर्माणलाई रानीपोखरीमा मात्र सीमित नराखी यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेको बताए।