काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एक आपसमा गाभिन (मर्जर) मा जान दबाब दिइरहेको छ । तर, वाणिज्य बैंकहरू मर्जरमा जानभन्दा पनि विकास बैंकलाई विलय (एक्वायर) गर्नतर्फ लागेका छन् ।
धेरै विकास बैंकहरू वाणिज्य बैंकहरूसँग विलय भएर अस्तित्व सकिएको छ । वाणिज्य बैंकबीच मर्ज हुँदा अस्तित्व सकिने उनीहरूलाई डर पनि छ । वाणिज्य बैंकहरू त्यो अस्तित्व समाप्त पार्न चाहँदैनन् ।
ग्लोबल आईएमई बैंकसँग जनता मर्जमा गएपछि वाणिज्य बैंकबीच मर्ज हुन सकेको छैन । पछिल्लो समयमा नेपाल इन्भेस्टमेन्ट बैंकले हिमालयन बैंकलाई गाभ्न र हिमालयनले पनि बैंक अफ काठमाण्डूलाई मर्ज गर्ने विषयमा छलफल भए पनि घनिभूत रूपमा अघि बढेको अवस्था छैन ।
विकास साझेदार विश्व बैंकले पनि वाणिज्य बैंकको संख्या २७ वटा बढी भएको भन्दै यसलाई घटाएर १५ वटामा झार्न सुझाव दिएको छ ।
यस्तै चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले मर्जर र एक्वार नीतिलाई जोड दिएको छ ।
केन्द्रीय बैंकको नीति बैंकहरूको संख्या घटाउनेछ । केही साताअघि गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षहरूसँगको अन्तरक्रियामा पहिलो प्राथमिकता कोरोनाबाट वित्तीय क्षेत्रलाई जोगाउनु रहेको बताए । दोस्रो प्राथमिकता बैंकहरूलाई मर्ज गराउनु रहेको स्पष्ट पारेका छन् ।
उनले बैंकहरूबीच मर्जर आवश्यक भएको बताउँदै यसतर्फ ध्यान दिन गभर्नर अधिकारीले बैंकका अध्यक्षहरूलाई सुझाएका छन् ।
अहिले वाणिज्य बैंकहरू क्षेत्रहरूमा पकड जमाएर कारोबार गरिरहेका विकास बैंकहरूलाई एक्वायर गरिरहेका छन् । पछिल्लो एक वर्षको अवधिमा ९ विकास बैंक वाणिज्य बैंकमा विलय भई अस्तित्व समाप्त भइसकेको छ ।
अहिले विकास बैंकको संख्या २० वटामा झरेको छ । यीमध्ये तिनाउँ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्न लागेको छ ।
गरिमा विकास बैंक र साहारा विकास बैंकबीच मर्जरमा जाने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । धमाधम वाणिज्य बैंकसँग विलय भएपछि आगामी केही वर्षपछि नेपालमा विकास बैंक नै नरहने संभावना देखिएको छ ।
क्षेत्रीय र स्थानीय स्तरमा चर्चित विकास बैंकलाई विलय गर्दा त्यहाँको आफ्नो पकड बलियो हुनुका साथै ग्राहकलाई सहजै रूपमा लिने र यसले बढी फाइदा गर्ने सोच वाणिज्य बैंकहरूको छ । यसैगरी अर्कोतर्फ सञ्जाल पूर्वाधारसमेत विकास भइसकेकाले थप लगानी गर्न नपर्ने भएकाले अहिले वाणिज्य बैंकको आँखा विकास बैंकमा परेको हो ।
वाणिज्य बैंकले एउटा शाखा खोल्न करोडौं रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । नयाँ शाखाबाट प्रतिफल पाउन केही वर्ष कुर्नुपर्ने हुन्छ ।
तर, विकास बैंकलाई विलय गर्दा खर्च नै बचत हुनुका साथै व्यवसायलाई निरन्तरता दिन सक्ने बुझाइ बैंकहरूको छ ।
यस्तै वाणिज्य बैंकहरूलाई पुँजी बढाउनु पर्ने अवस्था छ । सबै वाणिज्य बैंकहरूले न्यूनतम् पुँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका छन् । ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी चुक्तापुँजी छ । विकास बैंकलाई आफूमा विलय गराउँदा पुँजी वृद्धि गर्दा अर्को वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सहज हुनेछ ।
अहिले वाणिज्य बैंकबीच पहिलो बन्ने प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा जान वाणिज्य बैंकहरूले विकास बैंकलाई एक्वायर गर्न लागेका हुन् ।
यस्तै स्थानीय तहमा नयाँ शाखा खोल्दा करोडौं रुपैयाँ लगानी गर्नुपर्ने र न्यूनतम् २ वर्ष शाखा घाटामा चलाउनु पर्ने हुन्छ । स्थानीय स्तरमा पकड भएका विकास बैंकलाई एक्वायर गर्दा पहिलेदेखि सञ्चालनमा आएकाले घाटा व्योहर्नुपर्दैन किन कि ती शाखाहरू नाफामा गइसकेका हुने छन् ।
महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र ज्योति विकास बैंक, साइन रेसुङा विकास बैंक पनि कुनै वाणिज्य बैंकसँग विलय हुने संभावना छ ।
एनएमबी बैंकले ओम डेभलपमेन्ट, कञ्चन डेभलपमेन्ट बैंक मेगा बैंकले गण्डकी विकास बैंक, प्राइभ कमर्सियल बैंकले कैलाश विकास बैंक र कर्णाली विकास बैंक, सिटिजन्स बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसनलाई प्राप्ति गर्दै, कुमारीले देव विकास बैंकलाई प्राप्ति गरेका छन् ।