काठमाडौं । नेपालीहरूको महान चाड दसैं आएसँगै उद्योगी/व्यवसायीले पनि आफू जाने ‘डेस्टिनेसन’ तय गरेका छन् । हरेक वर्ष विदेशका नयाँ–नयाँ ठाउँ घुम्ने योजना बनाउने उद्योगी/व्यवसायीले यसपटक स्वदेशमै रहेका पर्यटकीय स्थलको भ्रमण तथा अवलोकन गर्ने भएका हुन् ।
तिहारभन्दा पनि दसैंमा उद्योगी व्यवसायीको पहिलो रोजाइ विदेश हुन्थ्यो । तर, यसपटक भने उनीहरूले नेपालकै पर्यटकीय गन्तव्यलाई आफ्नो रोजाइमा पारेका हुन् ।
व्यवसायीले घुम्न जाने ठाउँ र ग्रुप पनि छनोट गरिसकेका छन् । कतिपय व्यवसायीले पोखरा, चितवन घुम्ने चार दिने प्याकेज बनाइसकेका छन् भने केही उद्योगी व्यवसायीले हिमाल चढ्ने योजना बनाइसकेका छन् ।
चारदिन व्यापार–व्यवसाय पनि नहुने र कम्पनीमा भएका सम्पूर्ण कर्मचारी दसैैं मनाउन आ–आफ्नो घर जाने भएपछि उद्योगीहरू पनि हरेक वर्ष नयाँ–नयाँ ठाउँ घुम्न जाने गरेका छन् । ‘त्यो क्रम अहिले पनि हुन्छ,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘हाम्रो पाँच जनाको समूह छ, त्यो समूह पोखरा र चितवन घुमेर काठमाडौं फर्किन्छ ।’ अग्रवालको समूहमा उद्योगी वीरेन्द्र साह, अरुण डोकानियालगायतका उद्योगी छन् ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित उद्योगी आनन्द बगरिया यो पटक मर्दी हिमाल आरोहणमा निस्किँदै छन् । उनीहरू बिहीबार हिमाल आरोहणका लागि जाने तयारी छ ।
त्यसैगरी, केही उद्योगी व्यवसायी दुबई यात्रा पनि निस्किने तरखरमा छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोर दुबई जाँदै छन् भने उद्योगी त्रिलोक अग्रवाललगायतको समूह दुबई पुगिसकेको छ ।
त्यसबाहेक उद्योगी सौरभ ज्योति बेलायत जाने तरखरमा थिए । तर, उनमा कोरोना पोजेटिभ देखिएकाले उनको यो पटकको यात्रा रोकिएको छ ।
कोरोना भाइसर संक्रमणको जोखिम बढेपछि यो पटक धेरै व्यवसायीहरू विदेश जानेभन्दा पनि स्वदेशकै पर्यटकीय गन्तव्यमा पुग्ने योजना बनाइरहेका छन् । नेपालको तुलनामा विदेशमा कोरोनाको उच्च जोखिम छ ।
एकातिर कोरोनाको जोखिम छ । अर्कोतिर धेरै देशमा उडान बन्द छ र नेपालकै पनि धेरै ठाउँको अवलोकन नगरेकाले यो पटक नेपालकै विभिन्न ठाउँ जाने योजना बनाएको उद्योगी वीरेन्द्र साहले बताए ।