काठमाडौं । विकास बैंक मर्जमा आक्रामक बनेको सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमै आधा अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवमा ४६ दशमलव ६६ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख ४० हजार रुपैयाँ नाफा गरेको थियो ।
एक पछि अर्को विकास बैंकलाई सिटिजन्समा गाभ्दै अघि बढेको बैंकले नाफामा पनि बढोत्तरी गरेको हो । अझै विकास बैंक मर्ज गराउने पक्ष जुटिरहेको बैंकले समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ। गत आवको पहिलो त्रैमासमा ३ करोड ३८ लाख ५३ हजार रुपैयाँ रहेको इन्मेरिमेन्ट चार्ज चालु आवको सोही अवधिमा २ करोड ५१ लाख ५५ हजार रुपैयाँ रिभर्स भएको छ। यसले पनि बैंकको खुद नाफा बढाउन टेवा पुगेको हो। यसका साथै खुद फि तथा कमिशन आम्दानी र खुद ट्रेडिङ्ग इन्कम बढेका कारण खुद नाफा बढ्न पुगेको हो।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आवको असोज मसान्तसम्ममा १६ रुपैयाँ २० पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा ६ रुपैयाँ ४९ पैसा बढेर २२ रुपैयाँ ६९ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ९.४८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा कायम भएको छ।
असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड ३७ लाख २३ हजार रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ९७ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८२ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँ रहेको छ।
गत आवको असोज मसान्तको तुलनामा बैंकको खराब कर्जाको अनुपात ०।९८ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको क्यापिटल फण्ड टु आरडब्लुए १२।६६ प्रतिशतबाट बढेर १४.३८ पुगेको छ भने कष्ट अफ फण्ड ८.३० प्रतिशतबाट घटेर ६.७९ प्रतिशत पुगेको छ। बैंकको सिसिडी रेशिया ७३.५० प्रतिशत, बेस रेट ८.८१ प्रतिशत र स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ।