काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले निर्माण गरेका २ जलविद्युत आयोजनाले १ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएका छन् । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १९ मेगावाटका दुई आयोजनाहरुले विद्युत उत्पादन सुरु गर्न लागेका हुन् ।
आयोजनाको निर्माण अन्तिम चरणका पुगेको छ । १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती–२ को विद्युत प्रसारण प्रणालीमा जोडिने आयोजनाका इन्जिनियर अमित सिंहले जानकारी दिए । उनका अनुसार दुवै आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम धमाधम भइरहेको छ ।
उपल्लो खिम्तीको विद्युतगृहमा उपकरण जडानबाहेकका सबै काम सकिएको छ । आयोजना परीक्षण बिजुली उत्पादन हुने अवस्थामा पुगेको छ । आयोजनामा उपकरण जडानको काम अबको २ सातामा पूरा हुने पनि उनले बताए । आयोजनाको इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीका उपकरण जडान भएका छन् । आयोजनामा उपकरण जडानका लागि भारतीय प्राविधिकहरुको टोलीले काम गर्दै आएको छ ।
यस्तै, माथिल्लो खिम्ती आयोजनामा पेनस्टक पाइप जडानको थोरै काम बाँकी छ । विद्युतगृहमा उपकरण जडानको काम पनि भइरहेको छ । दुवै आयोजनाको काम सम्पन्न गरेर संरचनामा पानी भरेर परीक्षण सुरु गरिने कम्पनीले जनाएको छ ।
आयोजना उत्पादन सुरु भएपछि गर्जाङमा सबस्टेशनमा लगेर जोडिने छ ।आयोजनाको विद्युत प्रवाह हुने खिम्ती–गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको यो प्रसारण लाइनको काम भने सुस्त छ । ३३ किलोमिट लामो सो प्रसारणलाइनको काम धेरै बाँकी छ । कोरोना महामारीले उपकरण जडान तथा अन्य काम बाँकी छ ।
आयोजनाले विद्युत उत्पादन सुरु गर्नुअघि नै प्राधिकरणले प्रसारण लाइन तयार नगरेमा वैकल्पिक लाइनमा जोड्नेबारेमा छलफल भइरहेको कम्पनीले जनाएको छ । प्रसारण लाइनको काम ढिला हुँदा आयोजनाको विद्युत खेर जाने अवस्था आएपछि कम्पनीले वैकल्पिक व्यवस्थाको खोजी गरेको हो ।
कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र तत्कालिन एस डेभलपमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी छ ।
आयोजनाको काम ढिला हुँदा लागत बढेको छ । कम्पनीले दुई वर्ष अघि नै २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरी दोस्रो बजारमा कारोबारसमेत भइसकेको छ ।