काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्न थालेका छन् । कुल २७ मध्ये ७ वटा वाणिज्य बैंकहरुले दसैं अगावै सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् ।
२० वटा बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । कोरानो भाइरस महामारीले व्यवसाय खुम्चिएपछि चालु आर्थिक वर्षमा बैंकहरुले दिने लाभांशमा भने गिरावट आएको छ ।
बैंकहरुको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वार्षिक साधारणसभामा पेश हुन्छ । साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई लाभांश वितरण गर्न पाइन्छ ।
हालसम्म एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सानिमा बैंक, माछापुच्छे बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक र कुमारी बैंकले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छेको लाभांश दिने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । उसले साधारणसभा बोलाए पनि कोरोना महामारीले स्थगित भएको छ ।
हालसम्म घोषणा गर्ने बैंक मध्ये सबैभन्दा बढी लाभांश एनआईसी एसियाको छ । एनआईसी एसियाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकले १९ प्रतिशत बोनश सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ । लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी २३ औं वार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीहरुलाइ वितरण गर्ने बैंकले जनाएको छ ।
यसैगरी, ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बिहीबार बसेकोे बैंक सञ्चालक समितिको ३६४ औं बैठकले राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य नाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६०७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको बैंकले जनाएको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.६० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद(कर प्रयोजनसहित) लाभांश प्रस्ताव गरेको हो । बैंकको चुक्तापुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ ।
सिटिजन्स बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । गत असार मसान्तसम्म कायम चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर तथा ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई १०.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई चुक्तापुँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने करसहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ ।