रासायनिक मल कारखाना स्थापनाबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २७, बिहीबार,०९:१३:PM  
रासायनिक मल कारखाना स्थापनाबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं ।  सरकारले रासायनिक मल कारखाना स्थापना गर्नेसम्बन्धमा तीन सदस्यीय प्रारम्भिक अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठित समितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल  रहेका छन् । मन्त्रिपरिषद् बैठकले ‘जिटुजी’ प्रतिस्पर्धाबाट मल आपूर्ति गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।  सरकारले सङ्क्रमण रोकथामका लागि अन्तरराष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेशविन्दु र खुला सिमानाबाट हुने आगमन आगामी मङ्सिर ३० गतेसम्मका लागि स्थग गरेको छ ।

यसअघि भएको निर्णयानुसार कात्तिक ३० सम्म रहेको सो नियम अर्को एक महिनासम्म लागू गराउने निर्णय भएको छ । यसैगरी बैठकले नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घसम्बद्ध ‘इन्हान्स इन्ट्रिगेटेड फ्रेमवर्क’ बाट प्राप्त हुने अमेरिकी डलर १४ लाख ८५ हजार स्वीकार गर्ने निर्णय भएको छ  । 

ऊर्जा मन्त्रालयको प्रस्तावमा धरान २२०/३३ केभी सबस्टेशन निर्माण आयोजनाअन्तर्गत सबस्टेशन निर्माण गर्न र मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने तथा प्रारम्भिक कारवाही गर्ने अधिकारी सहायक प्रशासकीय अधिकृत अच्युतप्रसाद लामिछाने र सुरेन्द्र शर्मालाई तोक्ने निर्णय भएको छ । 

वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मेचीमहाकाली विद्युतीय रेलमार्गका लागि रौतटहको वन क्षेत्रमा पर्ने २५.७३ हेक्टर जग्गा र सेती राजमार्गका लागि कैलाली जिल्लाको  २३३ दशमलव ५४ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top