काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । ११ बजेर ३० मिनेटमा हुने उद्घाटन कार्यक्रममा महासंघबाट २५ जना व्यक्तिहरु सहभागी हुने भएका छन् ।
अन्य सम्पूर्ण सदस्यहरुलाई जुममार्फत सहभागी हुन भनिए पनि बालुवाटारमा महासंघका अध्यक्ष भवानी राण,निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधान, वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एसोसिएट्तर्फका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उपस्थित हुँदै छन् ।
त्यसैगरी, पूर्वअध्यक्ष महेशलाल प्रधान, विनोद चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य र प्रदीपजंग पाण्डे बालुवाटार जाने बुझिएको छ । यस्तै महासंघका ७ वटै प्रदेशका अध्यक्ष पनि सहभागी हुने भएका छन् ।
बाँकी कार्यसमिति र साधारण सदस्यहरु कार्यक्रममा जुमबाटै सहभागी हुने छन् । महासंघको साधारणसभा बिहीबारबाट सुरु हुन लागेको छ । यो साधारणसभाबाट महासंघको नयाँ नेतृत्व पनि आउने छ भने १३ गतेबाट शेखर गोल्छाले अध्यक्ष पद सम्हाल्दै छन् ।