काठमाडौं । सरकारलाई बढी कर बुझाउने करदाताहरुलाई नेपाल उद्योग परिसंघले सम्मान गरेको छ । सरकारले सम्मान गरेका १५ मध्ये ७ करदाता परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध छन् ।
परिसंघमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मानपत्र प्रदान गरे ।
परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंकका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई पनि बधाई तथा सम्मानपत्र प्रदान गरेको छ ।
पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्सका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीजका निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसंघले बधाई ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेको छ ।
सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल र निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाललाई पनि सम्मानपत्र प्रदान गरिएको परिसंघले जनाएको छ ।
सम्मान तथा बधाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरुले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण क्षणको रुपमा रहेको बताए । निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनु पर्नेमा निजी क्षेत्रको अपेक्षा रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे ।
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर उत्कृष्ट करदाता बन्न सफल परिसंघको गभर्निङ्ग काउन्सिल सदस्य विजयकुमार शाहले संस्थागत सुशासनलाई अपनाएर उत्कृष्ट करदाता बन्न सफल भएकोमा गर्व महशुस भएको बताए ।
यसअघि नवौं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गरेको थियो ।