काठमाडौं । सेयर मूल्य बढेपछि यो साता नबिल बैंक बजार पुँजीकरणको तेस्रो स्थानमा आएको छ । गत साता चौथो स्थानमा रहेको नबिल बैंकको यो साता सेयर मूल्य बढेपछि बजार पुँजीकरणको तेस्रो स्थानमा उक्लिएको हो । गत साता नबिललाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उछिनेको थियो ।
नबिलको सेयर मूल्य बढेपछि बजार पुँजीकरण बढेर १ खर्ब १३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत साता नबिल बैंकको बजार पुँजीकरण ९१ अर्ब २७ करोड रुपैयाँ थियो । एक साताको अवधिमा नबिलको बजार पुँजीकरण २३ अर्ब रुपैयाँ बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।
बजार पुँजीकरणको चौथो स्थानमा रहेको नेपाल लाइफको बजार पुँजीकरण ९१ अर्ब ५१ करोड रुपैयाँ छ । गत साता नेपाल लाइफको बजार पुँजीकरण बढेर ९१ अर्ब ८९ करोड रुपैयाँ थियो ।
यो साता नबिल बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार १३० रुपैयाँ पुगेको छ । यस्तै नेपाल लाइफको १ हजार ६६५ रुपैयाँ छ । बजार पुँजीकरणको पहिलो स्थानमा सरकार स्वामित्वको नेपाल टेलिकम छ । टेलिकमको सेयर मूल्य बढेपछि बजार पुँजीकरण १ खर्ब ६३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
यस्तो दोस्रो स्थानमा सरकारको पनि लगानी भएको नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड छ । नेपाल रिको बजार पुँजीकरण बढेर १ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । नेपाल रिको सेयर मूल्य बढेर १ हजार ३३९ रुपैयाँ पुगेको छ ।
यस्तै बजार पुँजीकरणको पाँचौ स्थानमा सरकारको समेत लगानी भएको नागरिक लगानी कोष, छैठौंमा एनआईसी एसिया बैंक, सातौमा एनएमबी बैंक, आठौंमा नेपाल इन्भेस्टमेन्ट बैंक, नवौंमा ग्लोबल आईएमई बैंक र १० औं स्थानमा एभरेष्ट बैंक रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण बढेर २५ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
यो साता रकमको आधारमा नेपाल रिको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल रिको २ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर कारोबार १८९ प्रतिशतले बढेर ३१ अर्ब ५४ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । गत साता १० अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।