काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ८ महिनापछि नयाँ नेतृत्व पाएको छ । महासंघको विधानअनुसार ५४ औं साधारणसभा २०७६ चैतमा हुनुपर्ने थियो । तर, कोरोना भाइरस (कोभिड–१९) को कारण निर्धारित समयमै हुन सकेको थिएन ।
आइतबार बिहान सकिएको मतगणनाअनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । उनी अबको दुई वर्षपछि स्वतः अध्यक्ष बन्ने छन् । निर्वाचनको बेला ढकाल र अर्का प्रत्यासी किशोर प्रधानले आफ्नो समूह बनाएर चुनावी मैदानमा होमिएका थिए ।
निर्वाचनका लागि समूह बनाएर निर्वाचनमा होमिएका निर्वाचित वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षहरूले साझा रूपमा महासंघलाई अघि बढाउन आफूहरू लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मत परिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिक्रिया दिएका हुन् । ‘हामीहरूको पक्ष–विपक्ष भनेको १३ गते साँझसम्म मात्रै थियो, आजदेखि हाम्रो पक्ष–विपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो,’ नवनिर्वाचित उपाध्यक्ष ढकालले भने ।
निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउने बताउँदै निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने ‘एड्भोकेसी’ गर्ने बताए । एसोसिएट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरूमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने बताएका छन् ।
‘निर्यातमूलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने छ, उनले भने ।
जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरूलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धिलगायततर्फ आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पुँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उनको भनाइ छ ।
वस्तुगत तर्फको उपाध्यक्ष अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरूका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए ।
‘कोरोनाको कहर सकिएको छैन, विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ, उपाध्यक्ष श्रेष्ठले भने कोरोना बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ ।’ सरकारसँग सीमित साधन र स्रोत मात्र भएकाले सरकारसँग निजी क्षेत्रले लगानी गर्ने अवसरका लागि वातावरण खोज्ने बताए ।