काठमाडौं । ५३ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको पहिलो विधान बन्दा शेखर गोल्छाका बुबा हुलासचन्द्र गोल्छाको पनि हस्ताक्षर थियो । महासंघको संस्थापक व्यावसायिक घराना भए पनि गोल्छा परिवारबाट पहिलो पटक शेखर गोल्छा महासंघको अध्यक्ष बनेका छन् ।
महासंघको लामो यात्रामा गोल्छा परिवारको ठूलै भूमिका भए पनि नेतृत्व तहसम्म कोही पुगेका थिएनन् । महासंघले आज जुन हैसियत बनाएको छ, त्यसका पछाडि शेखर गोल्छाका बुबा स्वर्गीय हुलासचन्द्रको योगदानको पनि उत्तिकै कदर हुन्छ ।
वि.सं. २०२२ सालमा महासंघ बनाउनपूर्व गठन गरिएको कमिटीमा हुलासचन्द्र सहभागी थिए । यसबाट पनि बुझिन्छ, गोल्छा परिवारको महासंघमा आवद्धता कहिलेदेखि हो भन्ने कुरा । त्यो बेला महासंघलाई कसरी अघि बढाउने ? के–के कुरा समेटेर जाने भन्ने विषयमा हुलासचन्द्रले अत्यधिक काम गरेको पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ बताउँछन् ।
व्यवसायीको हकहितमा आवाज उठाउने संस्थाको खाँचो महसुस गरेपछि हुलासचन्द्रले संस्थाको परिकल्पनासहित विधान कोरेका थिए । त्यही विधानलाई टेकेर उनका छोरा शेखर गोल्छा निजी क्षेत्रको सर्वोच्च संस्थाको अध्यक्ष पदमा पुगेका छन् ।
गोल्छा परिवारबाट अध्यक्ष पदमा पुग्ने पहिलो व्यक्ति पनि हुन् शेखर । ‘विधान उनका बुबाले बनाए, त्यसमाथि हस्ताक्षर गरे । तर, आफू त्यो संस्थाको अध्यक्ष बन्न सक्नु भएन्,’ पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘महासंघमा गोल्छा परिवार यसअघि उपाध्यक्ष पदसम्म पुगेका थिए । त्यो रेकर्डलाई शेखरले तोड्नु भएको छ ।’
हुलासचन्द्रको स्वास्थ्यमा गम्भीर समस्या आएपछि विनोद चौधरीलाई अध्यक्ष बन्न बाटो खुला गरेर उनी अमेरिका उपचारका लागि प्रस्थान गरे । र, चौधरी अध्यक्ष बने । स्वर्गीय दिवाकर गोल्छा पनि महासंघको उपाध्यक्षसम्म पुगेका थिए । तर, दिवाकर पनि अध्यक्ष बन्न सकेनन् ।
हुलासचन्द्रले बनाएको विधान पटक–पटक संशोधन गरिसकिए पनि अझै कैयौं व्यवस्था जीवित छन् ।
महासंघको अहिलेको जुन संरचना छ, त्यो हुलासचन्द्रकै कन्सेप्ट हो । जिल्ला–नगर, वस्तुगत, एसोसिएट, द्विराष्टलगायत जति संरचना छन्, त्यो सबै हुलासचन्द्र आफंैले बनाएका हुन् । त्यति मात्रै होइन्, विधान बनाउन पनि हुलासचन्द्रको भूमिका महत्वपूर्ण छ ।
‘धेरै वर्ष महासंघका विभिन्न पदमा बसेर निजी क्षेत्रको सेवा पनि गरेका थिए हुलासचन्द्रले । गोल्छा महासचिवदेखि उपाध्यक्षसम्म पुग्नु भयो,’ पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले भने, ‘महासंघलाई सुढृढ गर्न देशभरका चेम्बरमा पुग्नुभयो । उहाँ आफ्नै कारणले संस्थाको अध्यक्ष बन्न सक्नु भएन ।’
इन्द्रभक्त श्रेष्ठ अध्यक्ष (२०३५–३८) हुँदा हुलासचन्द्र उपाध्यक्ष थिए । उनकै जोडबलमा हुलासचन्द्रलाई अध्यक्ष बनाउने प्रयास पनि भएको थियो । तर, त्यो बेला महेशलाल प्रधान अध्यक्ष बने हुलासचन्द्र उठेनन् । महेशलालको कार्यकाल सकिएपछि हुलासचन्द्र अध्यक्ष बन्ने दौडमा थिए, स्वास्थ्यले दिएन ।
‘महासंघमा गोल्छा परिवारको योगदान धेरै छ । महासंघलाई यहाँसम्म ल्याउन गोल्छा परिवारको योगदान अतुलनीय रहे पनि अध्यक्ष बन्न सकेका थिएनन्,’ श्रेष्ठले भने, ‘तर, अहिले शेखरले नेतृत्व गर्ने मौका पाएका छन् ।’
महासंघमा गोल्छा परिवारको योगदान ठूलो छ । हुलासचन्द्र राजपछि स्वर्गीय दिवाकर गोल्छाले पनि महासंघलाई थप सशक्त र दरिलो बनाउन महत्वूर्ण भूमिका निर्वाह गरे ।
देशमा रोजगारी सिर्जना गर्नुपर्छ । देशका उद्योग खोल्नुपर्छ । मूल्य अभिवृद्धि गर्ने उद्योग लगाउनुपर्छ भन्ने सोचबाट पे्ररित थिए, दिवाकर ।
श्रम सम्बन्ध सुमधुर हुनुमा दिवाकरको भूमिका ठूलो छ । अहिले बनेको श्रम ऐनलगायत श्रमिकसँग सम्बन्धित सबै काममा दिवाकर गोल्छाको योगदानबाट भएको हो ।
प्रथम उपाध्यक्षबाट बाहिरिएका थिए, दिवाकर
प्रथम उपाध्यक्ष भइसकेका कारणले दिवाकर गोल्छालाई अध्यक्ष बनाउन सबै जना राजी नै थिए । महासंघमा दिवाकरको योगदानलाई कदर सबैजना सर्वसम्वत अध्यक्ष बनाउन लागिएको थियो । तर, चण्डीराज ढकालले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएपछि दिवाकर चुनावी रेसबाट बाहिरिएका थिए । फेरि उहाँलाई सर्वसम्वत् अध्यक्ष दिन सबैजना राजी भइसक्दा पनि चण्डीराज ढकाल मानेनन् ।
‘उहाँ सर्वसम्मतमा विश्वास गर्नुहुन्थ्यो । चुनावले फाटो ल्याउँछ भन्ने उहाँको सोच थियो । एक अर्काबीच मनमुटाव हुने बित्तिकै निजी क्षेत्र कमजोर हुने उहाँको बुझाइ थियो’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘उहाँले भनेको कुरा भएन् । गोल्छाले चुनाव नलड्ने भनेपछि कुशकुमार जोशीलाई अघि बढाइयो । उनले जित पनि निकाले ।
शेखरलाई पनि रोक्ने अथक प्रयास, तर असफल
वरिष्ठ उपाध्यक्ष भइसकेका शेखर गोल्छालाई पनि अध्यक्ष हुनबाट रोक्न प्रयास गरियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई नै संशोधन गरेर भए पनि गोल्छालाई अघि बढ्नबाट रोक्ने प्रयास तीन वर्षसम्म चल्यो ।
चण्डीराजको समूह बाहिर निस्किन खोजेपछि शेखरलाई वरिष्ठ उपाध्यक्षबाट फाल्न ठूलै समूह लागेको थियो । तर, हालका अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालसहित केही उद्योगी/व्यवसायीले साथ दिएकाले चण्डीराजको योजना सफल हुन सकेन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भन्ने विधानकै कारण गोल्छा महासंघको अध्यक्ष बने । आइतबार गोल्छाले अध्यक्षको शपथ लिँदै छन् ।
महासंघको तीन वर्षे कार्यकाल विधान संशोधन गर्ने र रोक्ने खेलमै बित्यो । चण्डी समूहहरु जुनसुकै हालतमा विधान संशोधन गरेर शेखर फाल्ने खेलमा लागे भने शेखर समूह कुनै हालतमा विधान संशोधन हुन नदिने जोडमा लागे ।