काठमाडौं । कानुनी रुपमा जग्गाको कित्ताकाट गर्न पाइँदैन । सरकारले जग्गा कित्ताकाट गरेर बेच्न रोकेको वर्षांै बितिसकेको छ । तर, अहिले पनि धमाधाम जग्गा कित्ताकाट गरेर बिक्री भइरहेको छ ।
मालपोतका अधिकृत तथा कर्मचारीसँग सेटिङ मिलाएर प्रतिआना ५० हजार रुपैयाँ दिँदै जग्गाको कित्ताकाट गर्ने र बेच्ने प्रचलन चलिरहेको छ ।
‘देखावटी रुपमा कित्ताकाट गर्न पाइँदैन ।
तर, भित्रभित्र जे पनि मिल्छ,’ भक्तपुरमा जग्गा प्लटिङ गर्दै आएका एक घरजग्गा व्यवसायीले भने, ‘सरकारले कित्ताकाट खुलाइको छैन, त्यही भएर प्रतिआना ५० हजार रुपैयाँ घुसबापत बुझाउनुपर्छ । तुरुन्तातुरुन्ती नै कित्ताकाट हुन्छ ।’
मालपोतका अधिकारीले प्रतिआना कित्ताकाट गरेबापत ५० हजार रुपैयाँ लिन्छन् । त्यही पैसा गुम्ने भएकाले अहिले अनेक बहाना बनाएर कित्ताकाट खुलाउनबाट रोकिएको छ ।
एकातिर पैसा खुवाएर कित्ताकाट गरिन्छ भने अर्कोतिर जग्गाको मूल्य पनि अस्वाभाविक रुपमा आकासिएको छ । यदि सरकारले कित्ताकाट खुलाउने हो भने धेरैको जग्गा बिक्रीका लागि खुला हुने अहिलेको तुलनामा मूल्य पनि घट्ने घरजग्गा व्यवसायी बताउँछन् ।
सरकारले लामो समयदेखि जग्गाको कित्ताकाट रोक्दा भू–माफियाहरुले चलखेलसमेत गर्ने गरेका छन् । उनीहरुकै पहलमा अहिले पनि कित्ताकाट बन्द गराउने प्रयास भइरहको छ ।
केही दिनअघि मात्र भक्तपुर क्षेत्रबाट ९ रोपनी र काठमाडौंस्थित बानियाँटार क्षेत्रमा पनि ७ रोपनी जग्गा कित्ताकाट भइसकेको छ । उक्त जग्गा कित्ताकाट गर्दा प्रतिआना ५० हजारका दरले मालपोतका कर्मचारीले रकम लिएको एक घरजग्गा व्यवसायीले क्यापिटल नेपाललाई बताए ।
सरकारले कित्ताकाट प्रतिबन्ध लगाए पनि भित्रभित्रै कित्ताकाट भइरहेको छ । पहुँचवालाहरु शक्ति र पैसाको आडमा जग्गाको कित्ताकाट गरी किनबेच गर्दै आएका छन् ।
यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै जग्गा कित्ताकाट खुलाएकी थिइन् । यद्यपि २०७५ पुसमा मन्त्री अर्यालले केही प्रावधान परिवर्तन गरेर कित्ताकाट रोक्ने निर्णयलाई निरन्तरता दिएकी थिइन् ।
दलाल र भूमाफियालाई पोस्ने गरी जग्गा कित्ताकाट फुकुवा भएको भन्दै सत्तासीन पार्टीको अखिल नेपाल किसान महासंघसहित प्रतिपक्षी दलहरुले विरोध गरेपछि भूमिमन्त्री अर्यालले कित्ताकाट खोल्ने निर्णयबाट पछि हटेकी थिइन् ।
लामो समय कित्ताकाट रोक्दा जग्गा दलालीहरुले चलखेल गरिरहेका छन् । तर, सरकारले भने भित्रभित्रै हुने कित्ताकाट र मालपोतका कर्मचारीले घुस लिँदासमेत बेखबर छ ।
‘घुस’ लिएर जग्गाको कित्ताकाट गर्ने गरेको विषय आफ्नो जानकारीमा नभएको मन्त्रालयका प्रवक्ता जनकराज जाेशीले बताए । उनले मालपोत र नापीका कर्मचारीसँग बुझेर मात्रै आवश्यक कदम चाल्ने बताए ।