काठमाडौं । ‘इन्ट्रा डे’ लागू गर्ने विषयमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अध्ययन सुरु गरेको छ । दक्षिण एसियाली मुलुक भारत, बंगलादेश र पाकिस्तानमा ‘इन्ट्रा डे’ लागू छ । तर, नेपालमा अहिलेसम्म यो प्रणाली लागू गरिएको छैन ।
आफूसँग स्वामित्वमै नभएको सेयर बिहान किनेर बेलुका बेच्ने वा एक कारोबार दिनभित्र जुनसुकै समयमा सेयर किन्ने र बेच्ने प्रक्रिया नै ‘इन्ट्रा डे’ कारोबार हो ।
लगानीकर्ताहरुले ‘इन्ट्रा डे’ कारोबार सुरु गर्न नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई दबाब दिइरहेका छन् । लगानीकर्ताको दबाबपछि बोर्ड र नेप्सेले समिति नै बनाएर अध्ययन सुरु गरेको छ ।
खासगरी अत्यधिक सेयर कारोबार हुने मुलुकमा ‘इन्ट्रा डे’ लागू गरिएको पाइन्छ । कारोबार तथा सूचीकृत कम्पनी पनि धेरै हुनुपर्छ । नेपालको सन्दर्भमा विस्तारै कारोबार बढिरहेको छ र सूचीकृत कम्पनी पनि थपिँदै गएका छन् । त्यसैका कारण नेपालमा पनि ‘इन्ट्रा डे’ लागू गर्न नेप्सेले तयारी थालेको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीको संयोजकत्वमा ‘इन्ट्रा डे’ ट्रेडिङको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपालमा ‘इन्ट्रा डे’ लागू गर्नुपर्ने माग बढेपछि नेप्सेले अध्ययन थालेको हो ।
सेयर बजारमा लगानी गर्ने सबै लगानीकर्ताले दीर्घकालीन सोच राखेर लगानी गर्दैनन् । उनीहरु ‘सर्टटर्म’ लगानी गर्न चाहन्छन् । दोस्रो बजारमा मूल्य उतारचढाव छिटो हुन्छ । सस्तोमा किनेर महँगोमा बेच्छु भन्ने मानसिकताले सेयर बजारमा लगानी गरिएको हुन्छ । त्यस्ता लगानीकर्तालाई ‘इन्ट्रा डे’ कारोबार लागू गर्दा फाइदा हुन्छ ।
बजारमा विभिन्न खालका लगानीकर्ताहरु हुन्छन् । कोही जान्ने हुन्छन्, कोही नजान्ने । कोही धनी हुन्छन्, कोही गरिब । कोही दीर्घकालीन हुन्छन्, कोही अल्पकालीन लगानीकर्ता हुन्छन् । त्यसैले सबै खाले व्यवस्थाको माग लगानीकर्ताबाट भइरहेको छ ।
नेपालको सेयर बजारको आयतन तथा गहिराई केही कमजोर छ । दीर्घकालीन लगानीकर्ता कम भएकाले दीर्घकालीन लगानी गर्ने प्रवृत्ति पनि कम छ ।
लगानीकर्ताको पोर्टफोलियो व्यवस्थापन गरेर लगानी गरिदिने वातावरण पनि कम छ वा लगानीकर्ताले पोर्टफोलियो व्यवस्थापकलाई विश्वास पनि गर्दैनन् ।
बजारलाई चलायमान तथा स्थायी बनाउन संस्थागत लगानी नभएका होइनन् तर पर्याप्त छैनन् । व्यक्तिले स्वेच्छाले लगानी गरिरहेको अवस्था छ । योजनाबद्ध तथा दीर्घकालीन लगानी गर्नेभन्दा पनि बजारमा तत्काल कारोबार गरेर नाफा लिने किसिमले लगानी गरेको देखिन्छ ।
संसारका कतिपय ठाउँमा आफूसँग सेयरको स्वामित्व नै नभए पनि सेयरको कारोबार गर्ने संयन्त्र आइसकेको छ । अन्य सम्झौताको आधारमा पनि दोस्रो बजारमा भविष्यमा सम्झौताको हस्तान्तरण हुने गरी कारोबार पनि गरिन्छ । यस्ता कारोबारलाई ‘फ्युचर्स’ तथा ‘अप्सन’को कारोबार भनिन्छ ।
के हो ‘इन्ट्रा डे’ कारोबार ?
आफूसँग स्वामित्व नै नभएको सेयर खरिद बिक्री गर्नसमेत सकिन्छ, जसलाई ‘डे’ अथवा ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । यसलाई अन्तरदिन कारोबार पनि भनिन्छ । मानौं कसैसँग ‘क’ ‘ख’ ‘ग’ भन्ने बैंकको सेयर छ, बिहान बजार खुलेदेखि कारोबार बन्द हुँदासम्म सेयरको मूल्य तलमाथि हुने आँकलन गरी बेच्ने वा किन्ने र फेरि बेच्ने निर्णय गर्छन् ।
बेलुका सेयरको मूल्य घट्यो भने त्यही बिहान बेचेको सेयर घटेको मूल्यमा बेलुका किनेर बिहानको क्षतिपूर्ति गर्न सकिन्छ । बिहान बेच्यो अनि बेलुका त्यही सेयर किनेर पनि नाफा कमाउन तथा घाटा पूर्ति गर्न सकिन्छ । ‘इन्ट्रा डे’मा भएको कारोबारलाई एकमुस्ट गरी वार्षिक, अर्धवर्षिक, त्रैमासिक, मासिक, पाक्षिक वा साप्ताहिक रुपमा हिसाब जोड्दा नाफा भए पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिन्छ ।
‘इन्ट्रा डे’मा भएको कारोबारमा लाग्ने लाभकर निर्धारणका लागि सुरुमा कारोबार सुरु गर्नुअघि नै कर कार्यालय, नेप्से/बोर्ड र लगानीकर्तासमेत मिलेर त्यसको विधि तय गर्न सक्छन् ।