काठमाडौं । दक्षिण कोरियाले नेपालको पर्यटन, जलविद्युत् तथा पूर्वाधारमा क्षेत्रमा लगानीका लागि सहजीकरण गर्ने भएको छ ।
नेपाल उद्योग परिसङ्घमा पदाधिकारीसँग आज अन्तरक्रिया गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदूत छङ सक पार्कले नेपालमा थप लगानीका लागि कोरियाली लगानीकर्तालाई आफूले सहजीकरण गर्ने विश्वास दिलाए ।
दक्षिण कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गर्ने पनि राजदूत पार्कको भनाइ छ ।
परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसङ्घ सहयोग गर्न तयार रहेको बताए ।
दक्षिण कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाई नेपाल भित्र्याउनेतर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह पनि गरे ।
परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले नेपालमा कोरियाली एक्जिम बैंकमार्फत पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्तालाई सहजीकरण गर्न कोरियाली दूतावाससँग सहकार्य गर्न तयार रहेको बताए।
कोरियामा काम गरेर फर्केका नेपालीका कारण नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण पैदा भएकाले यसलाई उपयोग गर्न पनि परिसंघले आग्रह गरेको छ ।
थप
expand_moreकम
expand_less