सेती नदी आयोजनाबाट ३ वर्षमा बिजुली उत्पादन हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०८:२३:PM  
सेती नदी आयोजनाबाट ३ वर्षमा बिजुली उत्पादन हुने 

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद  पौडेलले छरिएको पुँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिएका छन् । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।  बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै–थोरै पुँजी सङ्कलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमुना भएको उनले बताए ।

नौ क्षेत्रमा काम गर्ने गरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जलविद्युत् आयोजनाको काम गुणस्तरीय र तीव्ररूपमा भइरहेको थाहा पाएको बताउँदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना दिए ।

सामूहिक लगानीमा निर्माण भइरहेको सेतीखोला जलविद्युत् आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले  २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।

भिजन लुम्बिनीले तीव्र गतिमा पारदर्शी, सुशासन र जवाफदेहितासहित सामूहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखिएकाले लगानी गरेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाइमा तीन बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिए । एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।

५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि चार किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेशनमा जोडिनेछ ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गरेका छन ।  उद्योगधन्दा राम्रोसँग सञ्चालन गरेकाहरुले देश पनि राम्रोसँग सञ्चालन गर्न सक्ने बताउँदै उहाँले उद्योगी व्यवसायी पनि राजनीतिमा आए देश सफल हुने धारणा राखे ।

कांग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामूहिक पुँजी र एकीकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुसी लागेको बताए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top