त्रिशूलीमा ४०० केभी सबस्टेसन बनाउन जग्गाको लाग्यो टुंगो, स्थानीयले गरे दिने सहमति 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,१०:५४:AM  
त्रिशूलीमा ४०० केभी सबस्टेसन बनाउन जग्गाको लाग्यो टुंगो, स्थानीयले गरे दिने सहमति 

काठमाडौं । प्रस्तावित रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको त्रिशूली सबस्टेसन बनाउन जग्गाको रेखाङ्करन तयार भएको छ । नुवाकोट विदुर नगरपालिका–९ को त्रिशूली जलविद्युत् केन्द्र क्षेत्रमा सबस्टेसन पूर्वाधार बनाउने जग्गाको व्यवस्थापन भएको हो ।

सो क्षेत्रमा प्राधिकरण त्रिशूली वितरण केन्द्रको आफ्नै जग्गा भए पनि स्थानीय बासिन्दाले विगतदेखि नै भोगचलन गर्दै आएका थिए । जब, सबस्टेसन बनाउनका लागि जग्गाको रेखांकन गर्न खोजियो, त्यसपछि त्यहाँका स्थानीयले अवरोध पुर्याउँदै आएका थिए ।

मंगलबार भने स्थानीय, प्रदेश सरकारका जनप्रतिनिधि, सरोकारवाला, स्थानीय र विद्युत् प्राधिकरणबीच विवाद समाधान गर्न आयोजित सर्वपक्षीय छलफलले जग्गाको रेखांकन गर्न दिने सहमति भएको हो ।

यसअघि आइतबार सबस्टेसन निर्माणका लागि जग्गाको नापजाँच र रेखांकन गर्न खोज्दा स्थानीयले अवरोध गरेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए । त्यसपछि, स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिबीच आयोजना पक्षले छलफल गरी जग्गाको रेखांकन गर्न दिने गरी सहमति भएको आत्रेयले क्यापिटल नेपाललाई जानकारी दिए । 

प्रदेश सभाका सदस्य तारानाथ खतिवडासहितको टोलीबीच मंगलबार छलफल गरी समस्या समाधान भएको उनले बताए । त्रिशूलीको पावर हाउसको माथि पट्टी उक्त सबस्टेसन बन्नेछ । करिव ४०० रोपनी जग्गामा सबस्टेसन बन्ने छ ।

उक्त सबस्टेसन चीनबाट आउने प्रसारण लाइनको नेपालतर्फको रसुवागढीबाट ७९ किलोमिटरमा पर्छ । प्राधिकरणको आफ्नै जग्गाको व्यवस्थापनमा समेत पटक-पटक अवरोध हुँदै आएको थियो ।

प्राधिकरणको आफ्नै स्वामित्वको जग्गा भएकाले अधिग्रहण गर्नुपर्ने किन्नुपर्ने अवस्था भएन । यदि, व्यक्तिगत जग्गा भएको भए धेरै झन्झट र अवरोधका कारणले सबस्टेसन बन्ने वातावरण हुने अवस्था थिएन् ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top