काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३१ वटा कम्पनीहरुले आज बुधबार वार्षिक साधारणसभा गर्दै छन् । बैंक तथा वित्तीय संस्था,उत्पादनमूलक,जलविद्युत, बिमालगायत ३१ वटा कम्पनी छन् ।
जसमध्ये ८ वटा वाणिज्य बैंक, दुईवटा विकास बैंक, ७ वटा वित्त कम्पनी, ८ लघुवित्त, २ जलविद्युतलगायत छन् । नियामकीय प्रवधानअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिना अर्थात पुस मसान्तभित्र साधारणसभा गरिसक्नुपर्छ ।
बुधबार साधारणसभा गर्न लागेका सबै कम्पनीहरुको बुक क्लोज भइसकेको छ । वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्र लगानीकर्ताहरुले लाभांश पाउने छन् ।
बुधबार साधारणसभा गर्ने बैंकहरुमा नबिल, ग्लोबल आईएमई, एनएमबी, नेपाल बैंक, प्राइम कमर्शियल, मेगा, कृषि विकास र सेञ्चुरी कमर्शियल बैंक छन् । यस्तै कामना सेवा विकास बैंक र साइन रेसुङा डेभलपमेन्ट बैंकको पनि आजै साधारणसभा हुँदैछ ।
यस्तै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र सोल्टी होटल लिमिटेडको साधारणसभा पनि बुधबार हुँदैछ । ३१ कम्पनीमध्ये सबैभन्दा बढी लाभांश हिमालयन डिष्टिलरी र नबिल बैंकले प्रस्ताव गरेका छन् ।
हिमालयनको ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै नबिलले ३३.५ प्रतिशत बोनस र १.७६ नगद गरी ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
एचआईडीसीएल, नेपाल रि–इन्स्योरेन्स, सोल्टी होटल, हिमालयन पावर पार्टनर, रैराङ जलविद्युत, प्रोगेसिभ फाइनान्स, युनाइटेड फाइनान्सलगायतले लाभांश प्रस्ताव गरेका छैनन् ।