काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा ५० अर्ब ६ करोडको वस्तु निर्यात भएको छ । कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई सो रकम बराबरको वस्तु निर्यात भएको हो ।
केन्द्रीय बैंकले निकालेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो ।
भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै, आव २०७७/७८ को पाँच महिनाकै अवधिमा ५ खर्ब २५ अर्ब ५० करोडको वस्तु आयात भएको छ । कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर सो रकम बराबरको वस्तु आयात भएको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एमएस बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुक्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले घटेर.४७५ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.५ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।