गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम सकियो, तोकिएको समयमै पूरा गर्न मन्त्री ढकालको निर्देशन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०९:०४:PM  
गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम सकियो, तोकिएको समयमै पूरा गर्न मन्त्री ढकालको निर्देशन

भैरहवा ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाई नगर्न निर्देशन दिएका छन् ।

निर्माधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, लुम्बिनी गुरुयोजनालयगायतका विभिन्न आयोजनाको बुधबार निरीक्षण गर्दै मन्त्री ढकालले बजेटको अभाव नहुने र सरकारबाट गर्नुपर्ने सहयोगमा पनि कुनै कसुर बाँकी नरहने भन्दै तोकिएको समयमै निर्माण सक्न निर्देशन दिए ।

मन्त्री ढकालले बुधबारै बुटवल अन्तर्राष्ट्रिय सभाहल, बुटवल–बेलहिया व्यापारिक मार्गको पनि अवलोकन गर्दै निर्माणकार्यमा हुने ढिलाई र अलमल अब स्वीकार्य नहुने बताए । उक्त मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालय अन्तर्गतका कामको अवस्था बारे बुझ्न मन्त्री ढकाल बुधबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए ।

विमानस्थलको निरीक्षण पछि मन्त्री ढकाल बुटवल–बेलहिया व्यापारिक मार्ग हुँदै बुटवल पुगेका थिए । बुटवलमा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको माघी पर्व विशेष कार्यक्रममा समेत सहभागी भएका मन्त्री सैनामैना–सूर्यपुरा सडकको निरिक्षण गर्दै बुधबारै लुम्बिनी पुगेका छन् ।

लुम्बिनीमा मन्त्री ढकाललाई राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईसहति लुम्बिनी विकास कोषको टोलीले स्वागत गर्दै लुम्बिनी गुरुयोजनाका प्रगतिका बारेमा संक्षिप्त जानकारी गराएको थियो ।

भैरहवाको उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनिरहेको छ । चालु महिनामै निर्माण सक्ने लक्ष्य रहे पनि ढिलाई भइरहेका बेला विभागीय मन्त्रीले प्राविधिकसहितको टोली लिएर विमानस्थलको कार्यप्रगति बुझ्न भैरहवामा आएका हुन् ।

विमानस्थलको निर्माणकार्यको अवस्था बुझेपछि उनले कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए ।

बिमानस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री ढकालले प्राबिधिक मात्र अब बाँकी रहेको हुनाले आयोजनाले बिमानस्थल छिटो पुरा गर्न र आवश्यक सहयोगका लागि सरकार तयार भएको बताएका हुन् ।

‘कोरोनाको बहाना अब चल्दैन’

‘कोरोनाका कारण अन्तर्राष्ट्रिय बिमानस्थल ढिला भन्नु बाहाना मात्रै हो, हामी अब काम अन्ति चरणमा छौँ’ मन्त्री ढकालले भने–‘बाहिरबाट आउनुपर्ने प्राबिधिक जनशक्ति आउनुपर्यो आउनु कुरा प्रतिकुलता छ भन्ने कुरा छ लम्बिराखेको हुनाले तर यो प्रतिकुलता हो कि बाहाना हो ? ’

कोरोनाको बहाना देखाउँदै निर्माणकार्य लम्ब्याउने कुरा अब स्वीकार नहुने मन्त्री ढकालको स्पष्टोक्ती थियो । उनले कुनै पनि समस्या आइपरेमा सरकारले समन्वय गर्ने र समाधानको तत्कालै पहल गर्ने पनि बताए ।

‘काम गरौँ कि भन्यो भने हाम्रो हातमा छैन, जुन मितिमा आउने भन्नु भएको छ त्यो मिति देखि काम गरौँ अब बिलम्ब नगरौँ, मन्त्री ढकालको भनाइ थियो ।

विमानस्थललगायत यहाँ निर्माण भइरहेका राष्ट्रिय गौरवका कुनै पनि आयोजनालाई कुनै पनि बहानामा ढिलाई नगर्न मन्त्री ढकालको निर्देशन थियो । मन्त्री ढकालले अर्थमन्त्री विष्णुप्रसाद पौडेल यहीँ जिल्लाको भएकाले गौरवका आयोजनाका लागि बजेटको कुनै पनि अभाव नहुने बताए ।

 बिमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारीले आर्थिक वर्ष ०७५/०७६ मा ७४ प्रतिशत, ०७६/०७७ मा ९१ प्रतिशत र आर्थिक वर्ष ०७७/ ०७८ मा ९३.८ प्रतिशत बिमानस्थलको प्रगति रहेको बताए ।

उनले बीचमा कोरोनाका कारणले निर्माणकार्यमा केही विलम्ब भएको उल्लेख गर्दै अब त्यो समस्याको पनि समाधान भइरहेकाले निर्माणकार्यमा ढिलाई नहुने स्पष्ट पारेका थिए ।

विमानस्थलमा उपकरण जडानलगायतका प्राविधिक काम अहिले चलिरहेका छन् । यी बाहेक संरचना निर्माणका काम भने लगभग पूरा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top