काठमाडौं । उद्योग सञ्चालन गर्न चाहिने बिजुली माग्दा उपलब्ध गराउन नसकेको सरकारले फर्नेक्स आयल आयातमा पनि निजी क्षेत्रलाई रोक लगाएको छ ।
औद्योगिक क्षेत्रमा अत्यावश्यक पर्ने फर्नेक्स आयल यस अघिसम्म नेपाल आयल निगम (एनओसी)को नो अब्जेक्सन लेटरका आधारमा भारतबाट आयात गरिरहेका थिए । एनओसी कमिसन लिन निजी क्षेत्रलाई फर्नेक्स आयल आयातमा नो अब्जेक्सन लेटर नदिने र आफूसँगै तेन किन्नुपर्ने बाध्य बनाएको छ ।
उद्योगीले पर्याप्त बिजुली नपाएर फर्नेक्स आयल ल्याएर जेनेरेटर चलाएर त्यसबाट उद्योग चलाइरहेका थिए । त्यहाँ पनि एनओसीले कमिसन खोजेकाले उद्योगीहरु झन समस्यामा परेका छन् ।
यो पनि हेर्नुहोस
१० प्रतिशत कमिसन लिन एनओसीले फर्नेक्स आयल आयातमा लगायो रोक, निगमसँगै किन्नुपर्ने
उद्योगीले एनओसीसँग फर्नेक्स आयल किन्नु पर्ने र त्यसबापत एनओसीलाई १० प्रतिशत कमिसन बुझाउनुपर्छ । यसले उद्योगको उत्पादन लागत झन बढ्ने उद्योगीहरुले बताएका छन् ।
अचाक्ली उत्पादन लागतकै कारण नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । उत्पादन लागत घटाउनेतर्फ सरकारले सोच्नुपर्ने बेलामा उल्टै कमिसनको चक्करमा फर्नेक्स आयल पनि महँगो मूल्यमा किन्नुपर्ने अवस्था आएको उद्योगीहरुको भनाइ छ ।
एनओसीका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले यसलाई व्यापार विस्तारको रुपमा लिएका छन् । ‘एनओसीले आफ्नो व्यापार विस्तार गर्न खोजेको हो,’ उनले भने, ‘अबदेखि उद्योगीले ग्यासकै मोडालिटीमा फर्नेक्स आयल निगमसँग किन्नुपर्ने र त्यसका लागि नो अब्जेक्सन लेटर जारी गर्दैन ।’
सरकारसँग उद्योगीले स्वदेशी उत्पादन लागत घटाउन पहल गर्नुपर्ने माग राखिरहेका बेला पेट्रोलियम पदार्थ आपूर्तिमा एकाधिकार पाएको एनओसीले १० प्रतिशत कमिसन लिएर फर्नेक्स आयल बेच्न लागेको हो ।
‘अहिलेकै मूल्यमा फर्नेक्स आयल किनेर ल्याएर बिजुली निकालेर सामान उत्पादन गर्दा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सकिएको छैन्,’ एमएस ग्रुपका अध्यक्ष तथा उद्योगपति शशिकान्त अग्रवालले भने, ‘निजी क्षेत्र खासगरी उत्पादनमुलक उद्योगमा लागेका उद्योगीले लागत घटाउने विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरिरहेका बेला एनओसीले बिना लगानी नाफा लिन खोजेको छ । जसले उत्पादन लागत झन बढाउने अवस्था हुन्छ ।’
एनओसीका प्रवन्ध निर्देशक पौडेलले केही वर्ष अघिसम्म एनओसी आफैले फर्नेक्स आयल बिक्री गर्थ्यो । तर, बीचमा निजी क्षेत्रलाई ल्याउन बाटो खुला गरेको थियो । अहिले पुन निगमकै स्वामित्वमा ल्याइएको बताए ।
भारतमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाहेक अन्य कम्पनीले पनि फर्नेक्स आयल उत्पादन गर्छन । तर, आईओसीको देशभर संरचना छ । नेपाल नजिकका डिपोबाट फर्नेक्स आयल ल्याउँदा ढुवानी खर्च कम लाग्ने र त्यसको सकारात्मक असर उत्पादन लागतमा पर्ने भएकाले उद्योगीले नजिकका डिपोबाट तेल ल्याइरहेका छन् ।
तर, अन्य कम्पनीको संरचना देशभर छैनन् । उद्योगमै पुगेर फर्नेक्स आयल ल्याउँदा ढुवानी खर्च महँगो पर्छ भन्ने निगम नेतृत्वलाई पूरा जानकारी भएपछि फर्नेक्स आयल आफ्नो कन्ट्रोलमा ल्याएको उद्योगीले बताएका छन् ।
‘आईओसी बाहेकका कम्पनीबाट तेल ल्याउँदा उद्योगीलाई महँगो पर्छ । त्यही भएर उद्योगीले बाध्य भएर निगमलाई कमिसन बुझाएर तेल किन्छन्, भन्ने निगम नेतृत्व बुझेर यस्तो गरेको हो,’ विराटनगरका एक उद्योगीले क्यापिटल नेपालसंग भने, ‘निमगले आफ्नो निहीत स्वार्थ पूर्ति गर्न खोज्दा त्यसको नकारात्मक असर देशभर पर्ने अवस्था आएको हो ।’