काठमाडौं । वाणिज्य बैंकहरूले घरजग्गा र सवारी ऋण लिँदा स्थिर ब्याजदर (फिक्स्ड इन्ट्रेस्ट रेट) लागू गरेको तीन महिना बितिसकेको छ ।
कात्तिक १ गतेदेखि स्थिर ब्याजदर लागू गर्ने गरी केन्द्रीय बैंकले निर्देशन दिएसँगै बैंकहरूले त्यसलाई कार्यान्वयनमा लैजान नियमित रूपमा स्थिर ब्याजदर प्रकाशित पनि गरेका छन् । तर, ऋण माग्दै बैंकमा पुगेका ग्राहकहरू भने स्थिर ब्याजदरका बारेमा सामान्य चर्चासम्म गर्दैनन् । पछिल्लो समय कर्जाको ब्याजदर घट्ने प्रतिस्पर्धा चलिरहेका बेला स्थिर ब्याजदर केही महँगो पर्ने बुझेका ऋणीहरू स्थिर ब्याजदरमा जान चाहँदैनन् ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीका अनुसार स्थिर ब्याजदरभन्दा हाल कायम ‘फ्लोटिङ’ ब्याजदर सस्तो भएकाले ग्राहकको रोजाइमा पर्न नसकेको हो । ‘हालको चलनचल्तीको ब्याजदरभन्दा स्थिर ब्याजदर केही महँगो छ,” केसीले भने, ‘त्यहीभएर पनि ग्राहकले स्थिर ब्याजदरका बारेमा कुनै चासो नलिएको हुनसक्छ ।’
बैंकको ब्याजदरमा अत्यधिक उतारचढाब आएकाले निश्चित कमाइ भएका ऋणीहरूलाई किस्ता व्यवस्थापन गर्न साह्रै गाह्रो भएको गुनासो बढेपछि केन्द्रीय बैंकले स्थिर ब्याजदर नीति अघि सारेको हो । खासगरी कोरोना महामारीले स्थिर कमाइ भएका ऋणीहरूलाई गाह्रो भएको महसुस गरिएको थियो ।
त्यसपछि राष्ट्र बैंकले ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्ष र त्यसपछि प्रत्येक ५ वर्षमा स्थिर ब्याजदर पुनरावलोकन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । तर, कोरोना भाइरसको महामारीपछि बैंकहरूमा लगानी योग्य पुँजी (तरलता) थुप्रिएपछि फिक्सभन्दा साधारण ब्याजदरकै माग भइरहेको छ ।
माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले पनि ग्राहकहरू ऋण लिँदा फिक्सभन्दा चलनचल्तीकै ब्याजदरमा रमाएको बताए । ‘केन्द्रीय बैंकको निर्देशन आउनासाथ हामीले फिक्स ब्याजदर सार्वजनिक गरेका हौं,’ कोइरालाले भने, ‘तर, स्थिर ब्याजदरको विषयमा छिटफुट रूपमा ग्राहकहरू बुझ्न आउने गरेका छन् । तर, स्थिर ब्याजदरमा ऋण लिनेको संख्या छैन भन्दा हुन्छ ।’ वाणिज्य बैंकको प्रचलित ब्याजदर अहिले बैंकहरूअनुसार ७ देखि १० प्रतिशतभित्र छ । तर, स्थिर ब्याजदरको न्यून विन्दु नै ११ प्रतिशतबाट सुरु भएको छ ।
अहिले बैंकहरूमा अधिक तरलताको स्थिति छ । त्यसमाथि कोरोना महामारीले अझै लगानीयोग्य वातावरण भइनसकेको आम बुझाई छ । त्यसमाथि सरकारले २०७८ वैशाखमा आमनिर्वाचन घोषणा गरेको छ । सरकारी योजनाअनुरूप वैशाखमा निर्वाचन भए स्वदेश तथा विदेशबाट चन्दा र दानका रूपमा ठूलो रकम निर्वाचनमा प्रयोग हुनेछ । त्यसमाथि घरगाउँमा र थैलीमा बाँधिएको पैसा र भ्रष्टाचार तथा अनियमितताबाट कमाई लुकाएर राखेको पैसा पनि बजारमा आउँछ ।
यसले वित्तीय बजारमा थप तरलता आउँछ । यसले गर्दा ब्याजदर अझ ओरालो लाग्ने अनुमान धेरैको छ । यद्यपि बैंकहरूले स्थिर ब्याजदरको पनि व्यवस्था गरेपछि ब्याजदर एकाएक बढाए भन्ने ऋणीहरूको गुनासो घट्नेछ । किनभने स्थिर ब्याजदरको विकल्पमा नगएर फ्लोटिङ ब्याजदरमै बस्ने ऋणीहरू चाहनालाई जुनसुकै बेला बैंकरहरूले कुठाराघात भने गर्न सक्छन् ।
किनभने बैंकहरूले ब्याजको आधार दर (बेस रेट)मा ७ प्रतिशतसम्म अतिरिक्त शुल्क (प्रिमियम) जोड्न पाउने गरी ब्याजदर सार्वजनिक गरेका छन् । कुनै दिन न्यूनतम आधार दरमा ७ प्रतिशतको प्रिमियम दर थपियो भने उच्च ब्याजदर हुनपुग्छ ।
फ्लोटिङभन्दा फिक्स ब्याजदर जहिले पनि बढी हुन्छ । फ्लोटिङ र फिक्स ब्याजदरबीचको खाडल (ग्याप) बढी भएकाले ग्राहकको रोजाइ स्थिर ब्याजदर परेको छ । ब्याजदर घट्दो ट्रेन्डमा रहेकाले स्थिर ब्याजदरमा ग्राहकहरू आकर्षित हुन नसकेको नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डेले बताए । ‘हामीले पनि स्थिर ब्याजदर सार्वजनिक गरेका छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘तर, अहिलेसम्म स्थिर ब्याजरमा कुनै पनि ऋण गएको छैन ।’
बैंकको आधार दर बढ्दो क्रममा भएको भए, स्थिर ब्याजदर लिनेहरू हुन्थे होला । तर, बेसरेट घट्दो ट्रेन्डमा रहेकाले ऋणीहरूको ध्यान स्थिर ब्याजदर तिर ध्यान नगएको पाण्डेको बुझाइ छ । बजारमा लगानी योग्य पुँजी पनि पर्याप्त भएको र बैंकको ब्याजदर पनि ओरालो तिर लागेकाले ग्राहकले स्थिर ब्याजदरमा इच्छा नदेखाएको हुनसक्ने पाण्डेको अनुमान छ । विगतमा स्थिर ब्याजदरको माग व्यापक रहेको जस्तो देखिएका कारण बैंकहरूले ‘प्रडक्ट’ सार्वजनिक गरेका थिए । तर, अहिले स्थिर ब्याजदर कसैले माग नगरेको बैंकरहरूको भनाइ छ ।
स्थिर ब्याजदर फाइदा कि घाटा
ऋणको पूरै अवधिभर वा निश्चित अवधिसम्म कायम हुने गरी एउटै ब्याजदर कामय गरिने व्यवस्था स्थिर ब्याजदर हो । स्थिर ब्याजदर लिनुको फाइदा भनेको बजारमा कर्जामा हुने उतारचढावको कुनै मतलव हुँदैन । अर्थात् बजारमा ब्याजदर जतिसुकै घटे पनि वा बढे पनि ऋणीको ब्याजदर तोकिएको अवधिसम्म घटबढ हुँदैन ।
खासगरी स्थिर कमाइ भएका ऋणीहरूलाई सधैं एउटै किस्ता पर्ने भएकाले स्थिर ब्याजदर राम्रो हुन्छ । घट्दो ब्याजदरको स्थितिमा भने ऋणीहरूले स्थिर ब्याजदरले आफूलाई घाटा भएको महसुस ऋणीहरूले गर्न सक्छन् । बढ्दो ब्याजदर भएका बेला भने स्थिर ब्याजदर फाइदाजनक हुने अनुमान गर्न सकिन्छ ।
स्थिर ब्याजदर जहिले पनि प्रचलित ब्याजदरभन्दा महँगो हुने भएकाले ग्राहकहरू ठगिएको महसुस गर्छन् । स्थिर ब्याजदरमा आधार दर परिवर्तनले ब्याजदर तोकिएका ऋणीहरूलाई कुनै असर गर्दैन ।
के हो फ्लोटिङ ब्याजदर ?
फ्लोटिङ ब्याजदर आधार ब्याजदरका आधारमा तय गरिन्छ । अहिले आधार ब्याजदरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने व्यवस्था गरिएको छ । कात्तिक १ गते अघिसम्म नेपालका बैंकहरूले फ्लोटिङ विधिमा मात्र ब्याजदर तोक्थे । तर, कात्तिकपछि स्थिर ब्याजदरसमेत तोकिने गरेको छ । यसअनुसार बजारमा आधारदर घटेको वा बढेको आधारमा कुल ब्याजदर घट्ने वा बढ्ने गर्छ ।
ऋणीहरूले सुरुमा ऋण लिँदा कति प्रिमियम थप गरेका छन्, ऋण नतिर्दासम्म आधार दरमा सुरुकै प्रिमियम थपेर ऋणको साँवा व्याज बुझाउने गर्छन् । अर्थात् यसमा आधारदर मात्रै परिवर्तन हुन्छ ।