काठमाडौं । सेयर ऋणलाई जोखिम ठान्ने बैंक तथा वित्तीय संस्थाहरु नै सस्तो ब्याजदरमा ऋण दिन प्रतिस्पर्धामा उत्रिएका छन् । लगानीका अन्य क्षेत्रहरु खुम्चिएसँगै जोखिम ठानिएको क्षेत्र सेयर धितो लिएर बैंकहरुले ऋण प्रवाह गर्ने नीति अख्तियार गर्न थालेका हुन् ।
माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड बैंकलगायतले पहिलो पटक सेयर धितो राखेर ऋण लगानी गरिरहेका छन् । विगतमा यी बैंकहरु सेयरमा गरिएको लगानीलाई जोखिम ठान्थे । तर, अहिले यिनै बैंकहरु सबैभन्दा सस्तो ब्याजदरमा सेयर कर्जा प्रवाह गरिरहका छन् ।
‘हामीले भरखरै सेयरमा लगानी गर्ने सोच बनाएर अघि बढेका छौं,’माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सन्तोष कोइरालाले भने, ‘अब चै सेयर बजारमा लगानी गर्नुपर्छ कि भन्ने लागेर त्यतातिर प्रवेश गर्न लागिएको हो ।’
राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सस्तो ब्याजदर ७.५ प्रतिशतमै सेयर कर्जा उपलब्ध गराइरहेको छ । त्यसैगरी मुत्तिनाथ विकास बैंकले पनि ८.५ प्रतिशत ब्याजदरमा सेयर कर्जा उपलब्ध गराइरहेको छ ।
उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह शून्य प्रायः भएकाले बैंकले सेयरमा लगानी विस्तार गर्न थालेका हुन् । बैंकमा लगानीयोग्य पुँजी थुप्रिएको छ । निक्षेप पनि जुन गतिमा संकलन भइरहेको छ । त्यो गतिमा ऋण प्रवाह नभएपछि बैंकहरुले सेयर कर्जा धमाधम वितरण गर्न लागेको बैंकहरुले बताएका छन् ।
बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । उक्त व्यवस्था हुँदाहुँदै पनि धेरै जसो बैंकले सेयरमा ऋण लगानी गरेका थिएनन् । तर, पछिल्लो समय सेयर बजारमा उनीहरु लगानी गर्न इच्छुक भएका हुन् । त्यही भएर केही बैंकले सबैभन्दा सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने बताइरहेका छन् ।
सेयर बजारमा भरखरै लगानी सुरु गरेका बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएकाले पुराना बैंकबाट ऋण सार्नेहरु पनि बढेका छन् । सेयर लगानीकर्तालाई आकर्षित गर्न भरखरै सेयर बजारमा लगानी गर्न खोजेका बैंकले ७ देखि ७.५ प्रतिशत ब्याजमै ऋण दिन लागेका हुन् ।
यसरी बैंकहरुले सस्तो दरमा ऋण उपलब्ध गराएपछि सेयरमा लगानी गरिरहेका बैंकलाई ब्याज घटाउनुपर्ने दबाब परेको छ । ‘सेयरमा दिने ऋणको ब्याज कसले बढी घटाउने भन्ने प्रतिस्पर्धा चलेको छ,’ एक बैंकका सीईओले भने, ‘ब्याज घटाएर ऋणीलाई आकर्षित गर्न खोजेकाले पुराना बैंकलाई केही चुनौति थपिएको हो ।’
लगानीका अन्य क्षेत्र पूर्ण रुपमा खुम्चिएपछि सेयरमा लगानी गर्न बैंकहरुबीच तँछाड मछाड देखिएको छ । बैंकमा लगानीयोग्य पुँजी थुप्रिँदै गएपछि बैंकले लगानीको प्रमुख क्षेत्रका रुपमा सेयर बजारलाई लिएको र लगानीकर्तालाई बोलाई बोलाई ऋण दिन थालेका छन् ।
७ देखि ८ प्रतिशत ब्याजदरमा ऋण पाउने भएपछि सेयर लगानीकर्ताले धमाधम बैंकबाट ऋण लिएर सेयरमा लगानी गरिरहेका छन् । बैंकको हालको ब्याजदर नबढ्दासम्म बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्ने उपयुक्त समय रहेको सेयर लगानीकर्ताको बुझाइ छ ।
यसअघि कतिपय बैंकहरुले सेयर धितोमा दिने कर्जाको सीमा पुर्याइसकेका थिए । बैंकहरुले सस्तो दरमा ऋण दिन थालेपछि राजनीतिक अस्थिरताकाबीचमा सेयर बजारले दिनहुँ नयाँ रेकर्ड कायम राख्दै आएको छ ।