काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा र ब्याज बुझाउने अवधि तीन महिना थप गरी चैत्र मसान्तसम्म पुर्याउन माग गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी यस्तो माग पेश गरेको हो । सञ्चालनमा रहेका अधिकांश व्यवसाय पनि विशेषगरि बजारमा माग नबढेर नगदको अभाव झेलिरहेको बताउँदै कर्जाको साँवा र ब्याज तिर्ने समय बढाउन माग गरेको हो ।
यसैगरी मौद्रिक नीतिमा ५० अर्ब रुपैयाँको छुटै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जाको भर्खरैमात्र कार्यान्वयन शुरु भएकाले विना कुनै झन्झट उपभोग गर्न पाउने व्यवस्थाका लागि केन्द्रिय बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने माग महासंघले गरेको छ ।
साना तथा मझौला उद्यम लक्षित पुर्नकर्जा लिन जाँदा पनि बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न वहानामा काम नगरिदिने गुनासो आइरहेको छ । यसको प्रक्रियागत सरलताका लागि पनि राष्ट्र बैंकले बिशेष भूमिका निर्वाह गनुपर्ने सुझाव महासंघले दिएको छ ।
महासंघले लगातार दुई बर्ष घाटामा गएको ऋणीलाई वाचफुल लिष्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्न गभर्नर अधिकारीलाई आग्रह गरेको छ । क्रेडिट रेटिङ गरिएका ऋणहरुमा अन्य प्रक्रिया पनि पुरै अबलम्बन गर्नुपर्दा समय र खर्च बढेकाले यसलाई पुनरावलोकन गर्न आवश्यक भएको महासंघले गभर्नर अधिकारीको ध्यानकर्षण गराएको छ ।
सो अवसरमा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसंग सहकार्य गर्ने प्रतिवद्धता जनाउंदै कोभिडबाट साँच्चिकै समस्यामा परेका उद्यमी व्यवसायीका विषयमा निर्णय गर्ने विश्वास दिलाए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले उपलव्ध गराएका पुनर्कर्जा लगायतका सुविधाहरुका सम्बन्धमा महासंघसंग सहकार्य गरी सातै प्रदेशमा सचेतनामुलक कार्यक्रम लैजाने जानकारी समेत गराएका छन् ।
सबैको ध्यान यतिवेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेकाले राष्ट्र बैंकको पनि यसतर्फ केन्द्रीत रहेको र महासंघले उठाएका विषयहरूलाई सम्वोधनका लागि सक्दो सहयोग गर्ने स्पष्ट पारेको महासंघले जनाएको छ ।
प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, बैंक, बिमा तथा वित्तीय समितिका सभापति साहिल अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थी लगायतको उपस्थिति थियो ।