काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जनरल सेल्स एजेन्टस्(जीएसए) नियुुक्ति खुला प्रतिस्पर्धाबाटै गराउने प्रष्टीकरण दिएका छन् ।
क्यापिटल नेपालले सञ्चालक समितिलाई नै जानकारी नगराई महाप्रवन्धक एक्लैले युएई,चीन र भारतको जीएसए नविकरण गरेर अनुमोदनका लागि सञ्चालक समितिमा पेस गरेपछि उत्पन्न भएको विवादको विषयमा समाचार प्रकाशन गरेको थियो ।
सञ्चालक समितिको बैठकको एजेण्डामा विविध शिर्षकमा तीन मुलुकको जीएसएको म्याद थप गरि अनुमोदनका लागि लगेपछि समितिका सदस्य अच्युतराज पहाडीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
यहि विषयमा समाचार प्रकाशन गरेपछि महाप्रबन्धक पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रष्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘नेपाल वायुसेवा निगममा दुईवटा देशको जिएसएको म्याद थप गरेको भन्ने विषयमा एक सञ्चार माध्यममा व्यक्त धारणा प्रति सानो सूचना दिनै पर्ने भएको छ ।
विगतमा जीएसए नियुक्तिका विषयमा हुने गरेका चलखेल रोकेर हरेक देशमा खुल्ला प्रतियोगिताबाट जिएसए नियुक्ति गर्ने मेरो प्रस्ताव सञ्चालक समितिले सहर्ष स्वीकार गरेको छ ।
यो प्रकृया अगाडि बढाउने बेलासम्म उडान नरोकियोस भन्ने कुरा निश्चित गर्न निर्देशिकामा तोकेको समय सम्मका लागि मात्र म्याद थप गरी सञ्चालक समितिबाट अनुमोदन गरिसकिएको छ ।
खुल्ला प्रतिस्पर्धा रोकेर कसैका भनसुन अब सुनिँदैन, बस कुरा यै हो, निगमको भलो गर्दा कसैको चित्त दुख्यो भने मेरो केहि भन्नु छैन ’।