काठमाडौं । नियामक बिमा समितिले स्वीकृति दिँदा पनि सरकार स्वामित्वको राष्ट्रिय बिमा संस्थानले साधारणसभा गर्न सकेको छैन । संस्थानले आर्थिक वर्ष २०६४/०६५ देखि २०६६/०६७ सम्म लगातार तीन वर्षको बिमांकीय मूल्यांकन (एक्चुअरी) गरिसके पनि साधारणसभा गर्न नसकेको हो । वित्तीय विवरणलाई समितिले स्वीकृत गरिसकेको छ ।
वित्तीय विवरणको स्वीकृति पाउनुअघि बिमा संस्थानले आफ्ना एसिस्ट दायित्व राखेर बिमा समितिमा पठाउनुपर्छ । संस्थानले साधारणसभाको अन्तिम स्वीकृति पाउनु अघि गर्नुपर्ने कामसमेत पूरा गर्न सकेको छैन ।
यो पनि हेर्नुहोस
एक दशकदेखिको साधारणसभा गर्न बाँकी, समिति र बिमा संस्थानबीच आरोप प्रत्यारोप
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संस्थानलाई समितिले काममा समस्या सिर्जना नगरेको बताउँछन् । ‘हामीले आफ्नो तर्फबाट संस्थानलाई सक्दो सहजीकरण गरेका छौं ।
यसमा दुई मत छैन, कतिपय अवस्थामा एक्चुरी नै असन्तुष्ट रहेको अवस्था पनि हामीले संस्थानलाई केही मौका दिएकै छौं, किनभने नियामक भनेको एक हिसाबमा सहजिकरण गर्ने निकाय पनि हो’ उनले भने । संस्थानले आफ्ना गतिविधि पूरा गर्न तात्नुपर्छ र बाँकी रहेका काममा सम्पन्न गर्न आफैं आतुर रहनुपर्ने उनको भनाई छ ।
आर्थिक वर्ष २०६८/०६९ को स्वीकृत गर्न त्योभन्दा पछिल्लो भ्यालुयसन पनि पारित हुनुपर्छ भन्ने बिमा संस्थानले आफ्नो अडान प्रस्तुत गरिरहेको छ । बिमा संस्थानले आफ्ना साधारणसभा गर्न आवश्यक रहेको र अब त्यसका लागि बाटो खोल्ने पक्षमा काम गर्ने बताएको छ ।
अहिले २०६४/०६५ देखि २०६६/०६७ सम्मको भ्यालुयसन मात्र स्वीकृत भएको छ । २०६६/०६७ सम्मको भ्यालुयसको आधारमा २०६९/०७० सम्मको लेखापरीक्षण प्रतिवेदन बिमा समितिमा संस्थानले पठाइसकेको छ ।
हाल संस्थानले एडजस्टमेन्ट गर्नुपर्ने विषय चाहिँ आर्थिक वर्ष २०६९/०७० मा गर्न तयार रहेको जानकारी गराएको छ । ‘२०६८/०६९ को मै एडजस्ट गरौंभन्दा हामी साधारणसभा गर्न तयार छौं’, संस्थानका प्रशासक कविप्रसाद पाठकले भने ।
आर्थिक वर्ष २०६४/०६५ र २०६६/०६७ को स्वीकृति बिमा समितिले दिँदा एक वर्षको मात्रै साधारणसभा गर्न मिल्ने संस्थानले बताएको छ ।
हालसम्म संस्थानले आर्थिक वर्ष २०६५/०६६ सम्मको मात्रै साधारणसभा सम्पन्न गरेको छ । सोही आधारमा बिमितलाई संस्थाले प्रतिहजार ६५ रुपैयाँका दरले अन्तरिम बोनस दिँदै आएको छ ।
२०६६/०६७ सालको भ्यालुयसनको आधारमा साधारणसभा गर्न व्यालेन्ससिट तयार गर्नुपर्छ । अब तयारी भएको व्यालेन्ससिट खोलेर रिएडजस्ट गर्नुभन्दा सबै साधारणसभाहरु यही २०६९/०७० सम्म गर्न पाए हुन्थ्यो भन्ने पक्षमा बिमा संस्थान छ ।
संस्थानको आर्थिक वर्ष २०६८/०६९ सम्मको व्यालेन्ससिट बिमा समितिमा छ । यसमा बिमा समितिले सशर्त स्वीकृत गरेमा २०६८/०६९ को साधारणसभा गर्न संस्थानले आफू तयार रहेको उसले बताएको छ ।
बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकका अनुसार बिमा समितिमा अध्यक्ष नहुँदा आफ्ना केही काम केही प्रभावित भएका छन् ।
‘अहिले बिमा संस्थानमा अध्यक्ष पद खाली छ, त्यही कारण हाम्रो साधारणसभा गर्न ट्वाक्क जवाफ दिने मान्छे समितिमा नभएको हो कि जस्तो लागेको छ, हामीले साधारणसभा गर्न पूर्ण स्वीकृति पाएमा कुनै पनि वर्षहरुको साधारणसभा गर्न तयार छौं’, संस्थानका प्रशासक पाठकले क्यापिटल नेपालसँग भने ।