काठमाडौ । कोरोना बिमा दाबी भुक्तानी समयमा नगरेको भन्दै अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड विरुद्ध उजुरी परेको छ । अजोडले दाबी भुक्तानीमा समस्या सिर्जना गरेको भन्दै बिमितहरुले माघ ५ गते बिमा समितिमा उजुरी दिएका हुन ।
(रिता पौडेल) नाम परिवर्तनका अनुसार उनले टिचिङ् अस्पताल महाराजगञ्जमा गत कात्तिक १७ गते कोरोना परीक्षण गराएकी थिइन् । उनले गराएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी होम आईसोलेसनमा बसिन् । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साथमा उनले बिमा दाबी गरिने फारम, नागरिकताको फोटोकपी राखेर कात्तिक २६ गते अजोडको कार्यालय बानेश्वरमा दर्ता गराइन् । त्यति बेला उनलाई कोरोना भाइरस पोजेटिभ देखिहालेमा, दाबी भुक्तानी पाइहालिन्छ भन्नेमा ढुक्क थिइन् । तर वास्तविकता त्यस्तो भएन ।
पुस १४ गते अजोडको केन्द्रिय कार्यालयबाट उनलाई फोन आयो । सो फोन उनलाई बिमा दाबी भुक्तानी दिनका लागि भन्दा पनि भुक्तानी नदिनका लागि थियो । त्यसको मतलब अजोडले उनको कागजपत्रमा केही खोट देखाएको रहेछ ।
पीसीआर रिर्पोटमा अस्पतालको छाप नै नभएको कारण उनले कोरोना बिमा दाबी भुक्तानी लिन नमिल्ने अजोडले बताएको थियो । पीसीआरको छाप नै नभएको रिर्पोटलाई कम्पनीले सदर नगर्नु जायज कुरा पनि हो ।
कोरोना बिमा गरिसकेकाले दाबी भुक्तानी पाउनु कुनै पनि बिमितलाई ठूलै कुरा लाग्ने गर्छ । सोही कारण उनले अस्पतालको छाप लगाएको पीसीआर रिपोर्ट कम्पनीलाई उपलब्ध गराइन । अस्पतालको छाप सहितको रिपोर्ट गत पुस १५ गते नै अजोडमा पठाएको उजुरी पत्रमा उल्लेख छ ।
तर, अजोडलाई सहि रिर्पोट उपलब्ध गराए पनि उनले दाबी भुक्तानी भने पाइनन् । कम्पनीमा बिमाका लागि दाबी गरेको मिति गत कात्र्तिक २६ गते हो । हालसम्म कोरोना बिमालाई नै लक्षित गरेका मुद्धाहरु बिमा समितिमा अरु पनि छन् ।
बिमा समितिले दिएको जानकारी अनुसार कोरोना बिमाको दाबी भुक्तानी नदिएको मुद्धा करिब १० वटा छन् । कोरोना बिमाको दाबी भुक्तानी समयमा नगर्ने कम्पनीमा अजोडसहित राष्ट्रिय बिमा कम्पनी र शिखर इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।
अहिले कोरोना बिमाको दाबी भुक्तानी पुलमार्फत हुन्छ । २० वटा निर्जिवन बिमा कम्पनीहरुको पुल म्यानेजरका रुपमा अहिले शिखर इन्स्योरेन्स छ । तर शिखरले नै कोरोना बिमा गर्न मानेन भनेर बिमितले उजूरी बोक्न बाध्य भएको बिमा समितिले बताएको छ ।
अहिले कुनै पनि बिमा कम्पनीमा परेका दाबी भुक्तानीको भेरिफीकेसन, क्रसचेक बिमा पुलले गर्दै आएको छ । यसरी पुलबाट काम गर्नु भनेको बिमा बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्ने हिसाबले निकै वैज्ञानिक देखिन्छ । तर पुलबाटै दाबी भुक्तानी गर्दा केही ढिलाई समेत हुन् सक्छ । दाबी भुक्तानीमा सामान्य ढिलाई हुनु र बिमितले भुक्तानी नै नपाउनु फरक कुरा हो ।
कोरोना बिमाको दाबी भुक्तानी फास्ट ट्रयाकमा हुन्छ भनेर बिमा समितिले भनि सकेको अवस्थामा बिमितले उजूरी बोकेर नियामक निकाय धाउनु भनेको लज्जाकै विषय पनि हो ।
समितिमा परेका मुद्धाहरुको छिनोफानो गर्ने अधिकार बिमा समिति बोर्डलाई मात्र छ । तर बिमा समितिको बोर्ड महिनामा मुस्किलले २ पटक बस्ने गर्छ । एक पटकको बोर्डले बढिमा ३, ४ वटा उजुरीको मात्र छिनोफानो गर्दै आएको छ ।
समितिको बोर्डमा अर्थ मन्त्रालयदेखि बिमा बिज्ञसम्मको सहभागिता हुन्छ । तर उजुरी भन्दा बढी व्यवस्थापकीय पक्षमा नै बोर्डका सदस्यहरु व्यस्त हुने गर्छन् ।बिमा समितिले बिमितका उजुरी छिनोफानोका लागि आन्तरिक कार्यविधि बनाई त्यसलाई पूर्ण पालना गरेका बिमितका उजुरी चाङ लागेर बस्ने परिपाटी अन्त्य हुनसक्छ ।
बिमा दाबी भुक्तानीका लागि यस्तो छ प्रक्रिया
कोरोना बिमाको दाबी भुक्तानी पाउन बिमितले पीसीआर रिर्पोट अनिवार्य रुपमा पेश गर्नुपर्छ । यस्तै, दाबीको फारम पूर्ण रुपमा भर्नु पर्छ । यसरी नै बिमितले आफू क्वारेन्टाइनमा बसेको स्थानिय निकायको सिफारिससमेत पेश गर्नुपर्छ ।
चालु आर्थिक वर्षमा मात्रै बिमा समितिमा बिमितका ६१ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षको अन्तिममा ११३ वटा मुद्धा दर्ता भएका थिए ।बिमा समितिले दिएको जानकारी अनुसार मोटर बिमामा सबैभन्दा धेरै उजुरी परेको छ । त्यस्तै, वैदेशीक रोजगार सम्बन्धि बिमा, कन्ट्रयाक्टर अस बिमितका गुनासो धेरै आएका छन् । बिमा समितिले कुन क्षेत्रमा कति उजूरी परेका छन् भन्ने क्षेत्रगत रुपमा संख्या चाही खुलाउन चाहेन् ।
यसो भन्छ अजोड इन्स्योरेन्स ?
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीका अनुसार पछिल्लो समय कोरोना बिमाको दाबी भुक्तानीमा कुनै समस्या छैन । ‘अहिले कोरोना बिमा दाबी भुक्तानीको तथ्यांक हेर्ने हो भने भुक्तानी सबैभन्दा चाडो दिने कम्पनीहरुको लिस्टमा एक नम्बरमा अजोड इन्स्योरेन्स छ ।
बिमितहरुले कागजपत्र सदर हुने किसिमले ल्याएमा भुक्तानी दिन कम्पनीलाई कुनै समस्या छैन । हामीले भुक्तानी दिइ रहेका छौ । तर, कुनै पनि हिसाबमा बिमितलाई अप्ठ्यारो परेको महशुस भएमा उहाँहरु बिमा समिति मात्र होइन सरकारकोमा पनि जानु पर्छ, यसमा विषय के हो भने बिमितले ल्याएको कागजपत्र कतिको सहि छ भन्ने कुराले इन्स्योरेन्समा ठूलो अर्थ राख्छ, हामीले बिमितकै हक हितमा काम गर्ने हो, काजगपत्र—पक्रिया पुर्याएका बिमितहरुलाई दाबी भुक्तानीमा समस्या छैन, पछिल्लो समय त कोरोना बिमा दाबी भूक्तानी समग्रमा नै प्रगतिमूलक छ’, सीईओ खत्रीले क्यापिटल नेपालसँग भने ।