काठमाडौं । राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको मोबाइलको चोरी पैठारी सुरु हुन थालेपछि अर्थ मन्त्रालयले त्यसलाई गम्भीर रुपमा लिएको छ ।
छिटफुट रुपमा चोरी भएर मोबाइल नेपाल भित्रिन थालेको पाइएपछि अर्थ मन्त्रालयले भन्सार कार्यालय र बोर्डर आउट पोस्ट (बीओपी)लाई अलर्ट गराएको हो ।
‘पछिल्ला केही दिनयता मोबाइल चोरी भएर भित्रिने क्रम बढेको प्रहरीबाट जानकारी आएपछि भन्सार कार्यालय र सीमामा रहेको बीओपीलाई यसलाई रोक्न कडा निर्देशन भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘हिजो जुन-जुन ठाउँबाट चोरी पैठारी भएर मोबाइल भित्रिन्थे । आज पनि सोही ठाउँबाट मोबाइल आइरहेका छन् । हामीले हाम्रो भन्सारमा रहेको अधिकृत तथा बीओपीलाई यस विषयमा सचेत गराइरहेका छौं ।’
यो पनि हेर्नुहोस
सीमा नाकाबाट आवातजावात नखुल्दै चोरी गरेर मोबाइल भित्र्याउने सक्रिय
सरकारले सीमामा मानिसको आवातजावात खुला गरेको छैन । तैपनि मोबाइल तस्करी भएर भित्रिन सुरु भइसकेको छ । यसले एकातिर राजस्वमा गम्भीर असर पार्ने र अर्कोतिर बैध रुपमा भित्रिएका मोबाइल बेच्न कठिन हुने अर्थको बुझाइ छ ।
आर्थिक क्षेत्रमा आएको सुस्तताले सरकारको राजस्व लक्ष्यअनुरुप उठाउन सकेको छैन । त्यसमाथि पनि राजस्वमा महत्वपूर्ण योगदान गर्ने मोबाइल नै तस्करी भएर भित्रिन थालेपछि त्यसलाई रोक्न भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।
‘मान्छेको आवताजावात खुला नहुँदै तस्करी भएर मोबाइल कसरी नेपाल भित्रिए ? अर्थले भन्सारका अधिकारीसँग प्रश्न गरेको छ । अर्थले चोरी रोक्ने उपायहरु समेत बताउँदै त्यसमा लाग्न उनीहरुलाई निर्देशन दिएको अर्थका ती अधिकारीले जानकारी दिए ।
दैनिक उपभोग्य वस्तु तथा मोबाइलको चोरी पैठारी रोक्न लकडाउनपछि सीमामा बोर्डर आउट पोस्ट (बीओपी) खडा गरेको थियो । चोरी भएर आउने सामानको भोल्यूम ठूलो रहेको र त्यसले राजस्वमा गम्भीर असर गरेको निश्कर्ष पछि अर्थको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेर बीओपी राखेको थियो । तर, बीओपी खडा गरे पनि चोरी पैठारी हुन नरोकिएको हो ।