काठमाडौं । मंगलबार घटेको सेयर बजार बुधबार बढेको छ । बुधबार बजार १५.८७ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३४२ अंकमा पुगेको छ । बुधबार बजार खुल्दा २३६३ अंकमा पुगेको बजार घटेर २३२२ अंकमा आइपुगेको थियो । पछि बजार सम्हालिएर अन्तिममा बढेको छ ।
बुधबार १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । जसअनुसार वेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकलगायतको सेयर मूल्यमा उछाल आएको छ ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । मंगलबार ७ अर्ब ७६ करोड ७४ लाख रुपैयाँबराबरको १ करोड ६३ लाख ५ हजार कित्ता सेयर किनबेच भएको छ । बुधबार ६ अर्ब २१ करोड रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।
बैंक व्यापार, होटल र उत्पादन परिसूचकमा गिरावट आएको छ । यस्तै विकास बैंक, जलविद्युत, वित्त, जीवन तथा निर्जिवन बिमा, लघुवित्त र म्युचअल फण्डको बढेको छ ।
सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको २८८५ मा ६१ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै प्रभु बैंकको ४५२ मा २९ करोड ५२ लाख र नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १४७६ मा २७ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।