काठमाडौं । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । सो एक द्वार प्रणाली आगामी सातादेखि सुरु गरिने भएको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारि दिएको हो ।
कार्यक्रम तीनओटै विभागबाट सुरु गरिनेछ र त्यसमा सरकारी र निजी क्षेत्र रहनेछन । भन्सार विभागका अनुसार एकद्वार प्रणालीसँगै तीनवटै विभाग तथा कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ ।
लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा नपुगी डिजिटल माध्यमबाट काम हुनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यापार सहजीकरण, अनियमितता र राजस्व चुहावट नियन्त्रण गर्न, कार्य सम्पादन छिटो गर्न एक द्वार प्रणाली उपयोगी हुने बताए ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए ।
कृषि तथा पशुपंछि विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताइन । यस्तै, राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीलेले राजस्व परिचालनमा थप सहयोग पुर्याउने बताए ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए ।
अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछि विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।