काठमाडौं । केही वर्ष अघिसम्म प्रिमियम र स्ट्रोङ बियरको बजार हिस्सा बराबरी जस्तै थियो । एउटा प्रिमियम बिक्री हुँदा सोही अनुपातमा अर्काे स्ट्रोङ बियर बिक्री हुन्थ्यो ।
तर, अहिले प्रिमियमको भन्दा स्ट्रोङ बियरको बजार दोब्बर बढी भइसकेको छ । अहिले स्ट्रङ बियरको बजार हिस्सा बढेर ७२ प्रतिशत र प्रिमियम बियरको २८ प्रतिशतमा झरेको व्यवसायी बताउँछन् ।
बजार हिस्सा बढ्दै गएपछि बियर कम्पनीहरुले पनि प्रिमियमको उत्पादन घटाएर स्ट्रोङको बढाएका छन् । प्रिमियम मात्रै उत्पादन गर्ने कम्पनीहरुले पनि बीचमै स्ट्रोङ बियर उत्पादन गरेर बजारमा ल्याएका छन् ।
उपभोक्ताले प्रिमियम भन्दा पनि स्ट्रोङ बियर आफ्नो रोजाइमा पार्न थालेपछि उत्पादकहरुले पनि उनीहरुको मनोभावलाई बुझेर सोही अनुसारको उत्पादन बजारमा ल्याउन थालेको यति बु्रअरीका महाप्रबन्धक अरुण केसी बताउँछन् ।
अहिले बजारमा यति बु्रअरीको अर्ना स्ट्रोङ, किंगफिसर स्ट्रोङ, शिखर स्ट्रोङ, गोर्खा बु्रअरीको गोर्खा स्ट्रोङ, टुबोर्ग स्ट्रोङ, हिमालय ड्रागन स्ट्रोङ, त्यस्तै याक बु्रअरीको बाह्सिङ्गे स्ट्रोङ, राज बु्रअरीको नमस्ते स्ट्रोङ, फोस्टर स्ट्रोङ, माउन्टेन आइस स्ट्रोङ छन ।
यस्तै टाइगर बु्रअरीको लन्डन आइस स्ट्रोङ, टेन्सवर्ग स्ट्रोङ, नेपाल आइस स्ट्रोङ, सिजी बु्रअरीको रियल गोल्ड स्ट्रोङ, नेपाल आइस स्ट्रोङ, ५००० स्ट्रोङ, हिमालय बु्रअरीको आइसवर्ग स्ट्रोङ, काठमाडौं स्ट्रोङ, कमान्डो स्ट्रोङ, माउन्ट एभरेष्ट बु्रअरीको गोल्डेन टाइगर स्ट्रोङ, राइनो स्ट्रोङ र नेपाल बु्रअरीको स्टार स्ट्रोङ बियर उत्पादन भैरहेको छ ।
नेपाली उपभोक्ताहरुले बियरमा पनि अल्कोहलको मात्रा बढि खोजेपछि कम्पनीहरुले पनि बढाउन स्ट्रोङ बियर बजारमा पठाउन थालेका हुन् । बियर खाएपछि लाग्ने बियर हुनुपर्यो भन्ने मानसिकतामा उपभोक्ता हुँदा बियर पनि स्ट्रोङमा आउन थालेको केसी बताउँछन् ।
सिजी बु्रअरीका बिजनेस युनिटका सिनियर जनरल म्यानेजर प्रदीप पुडासैनीले नेपाली बजारमा लार्जर बियरको बजार घट्दै गएको र ३३० एमएलको स्ट्रोङ बियरको बजार हिस्सा बढिरहेको बताउँछन् । नेपाली उपभोक्ताले अलि बढि अल्कोहल भएको बियर खोज्न थालेपछि स्ट्रोङबाट पनि सुपर स्ट्रोङ बियर आउन थालेको उनले बताए ।
सुपर स्ट्रोङमा यति बु्रअरीले पछिल्लो पटक ८ प्रतिशत अल्कोहलको अर्ना एटलाई बजारमा ल्याएर आक्रमक बजार हिस्सा ओगटिरहेको छ । त्यस्तै सिजी बु्रअरीले हालै ८ प्रतिशतकै मुस्ताङ स्ट्रोङ बियर सार्वजनिक गरेको छ । ३३० एमएल बोतलमा ल्याइएको बियरले लार्जर बियरको बजार सजिलै खोस्ने पुडासैनी बताउँछन् ।
केही वर्ष अघिसम्म स्ट्रोङ बियरमा गुणस्तरको समस्या पनि थियो । तर, अहिले स्ट्रोङ बियरको गुणस्तरमा कुनै समस्या छैन् । अहिले जति स्ट्रोङ बियर खाँदा पनि ह्याङ हुँदैन । यदि खाएको भोलिपल्ट टाउको दुख्ने वा ह्याङ हुने भयो भने त्यो ब्रान्ड भोलिपल्टै बजारबाट हराउने संभावना रहेको उत्पादकहरु बताउँछन् ।
बियरमा अधिकतम ८ प्रतिशत अल्कोहल हाल्न पाइने सरकारी नियम छ । त्यतिसम्म अल्कोहल हालेर बनाइएका बियर नेपाली बजारमा छन् । अहिले साढे ६ सय एमएलको प्रिमियम बियरको मूल्य बजारमा २८० रुपैयाँभन्दा माथि पर्छ भने स्ट्रोङ बियरको मूल्य बजारमा १६५ रुपैयाँबाट सुरु हुन्छ ।
साना बजार, ग्रामीण भेग तथा सहरी क्षेत्रमा बसोबार गर्ने व्यक्तिले बियर खोज्दा प्रिमियमभन्दा स्ट्रोङ खोज्छ । स्ट्रोङ बियर कडा हुन्छ र त्यो छिटो पनि लाग्छ भने प्रिमियभन्दा आधा मूल्यमा यो पाइन्छ, त्यसैले स्ट्रोङ बियर लोकप्रिय हुँदै गएको हो ।