काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) को तथ्याङ्कअनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार चालू आवको छ महिनाको तथ्याङ्क अनुसार ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४.८१ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको थियो ।
यसैगरी, ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६.१४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।
तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।
हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्कअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारबाट नेपालले ६ अर्ब ४६ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो ।
चालू आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र १ खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले ४ खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोजमा १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी वस्तुका आयात भएको थियो ।
यसैगरी, कात्तिक महिनामा १ खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा १ खर्ब २३ अर्ब १ करोड र पुसमा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ ।
छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । छ महिनामा ३२ अर्ब ९३ करोड रुपैयाँ बढीको डिजेल आयात भएको छ ।