प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब २ अर्ब खुद नाफा कमाउन सफल भएको छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड २५ लाख रुपैयाँ अर्थात ३९.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २६ करोड ४२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७५ करोड ४ लाख रुपैयाँ बढेर २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्ममा १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा१ अर्ब ८८ करोड रुपैयाँ थियो।
खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ १५ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालू आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २२ रुपैयाँ ५५ पैसा कायम भएको छ। चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानीमा ह्रास आएको हो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.६० गुणा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ खर्ब १९ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
कर्जा लगानी बढाए पनि बैंकको निष्क्रिय कर्जा भने घटेको देखिन्छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.४५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य घटेर १.०८ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर ९.४५ प्रतिशतबाट ७.८५ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.११ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको छ।