हिमालयन बैंकको आम्दानी घट्दा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफामा संकुचन देखिएको छ। बैंकले बिहीबार सार्बजानिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले कमी आएको हाे।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोहसी अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा १ अर्बभन्दा बढीले घटेको हो।
बैंकको खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा कमी आउँदा उसको नाफामा दबाब परेको हो। बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ। त्यसैगरी, अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ। जसले गर्दा बैंकको सञ्चालन नाफा पनि घटेर ९८ करोडमा झरेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ११ करोड थियो।
बैंकले खर्च भने खासै बढ्न दिएको छैन। उसको कर्मचारी खर्च ८८ करोडबाट ७४ करोडमा झरेको छ भने अन्य सञ्चालन आम्दानी पनि झण्डै ७ लाख रुपैयाँले घटाएको छ।
बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।
कोभिडको असरसँगै बैंकको खराब कर्जा पनि बढ्न थालेको छ। गत वर्षको दोस्रो त्रैमासमा १.२८ प्रतिशत रहेको बैंको खराब कर्जा बढेर २.१३ प्रतिशत पुगेको छ।
बैंकको सिसिडी रेशियो ७३ प्रतिशतबाट ७१ प्रतिशतमा झरेको छ। केन्द्रीय बैंकले सिसिडी रेिसियोमा लचकता अपनाउँदै ८५ प्रतिशतसम्म जान पाउने व्यवस्था गरे पनि बैंकले कर्जा लगानी गर्न नसक्दा सिसिडी झनै खुम्चिएको हो। यसले गर्दा बैंकले सोचेजति आम्दानी गर्न सकेको छैन।
बैंकको आधार दर ८.९२ प्रतिशतबाट घटेर ६.८३ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.३२ प्रतिशतबाट ३.७६ प्रतिशतमा झरेको छ। पूँजीकोष अनुपात १३.८४ प्रतिशत रहेको बैंकको कोषको लागत ४.६४ प्रतिशत छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ। उसको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५५ पैसा छ भने मूल्य आम्दानी अनुपात बढेर ४७.१० गुणा पुगेको छ।