नयाँ जीवन बिमा कम्पनीहरूमध्ये उत्कृष्ट हुन्छौं, पुरानालाई टक्कर दिन्छौं 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन १०, साेमबार,०३:५८:PM  
नयाँ जीवन बिमा कम्पनीहरूमध्ये उत्कृष्ट हुन्छौं, पुरानालाई टक्कर दिन्छौं 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालनमा आएको ३ वर्ष भएको छ । कम्पनीको स्थापनाकालदेखि नै पोषकराज पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारमा छन् । सीईओ पौडेलले बिमा क्षेत्रमा प्रवेश गर्नुअघि अडिटको काम गर्थे । सीए फर्ममा काम गरेका पौडेलसँग बहुराष्ट्रिय कम्पनी एलिको इन्स्योरेन्समा १५ वर्ष काम गरेको अनुभव छ  । प्रस्तुत छ, आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफका सीईओ पौडेलसँग नबिन पोखरेलले गरेको कुराकानी ।

लामो समय एलीको लाइफमा काम गर्नुभयो । विदेशी कम्पनी र नेपालीमा काम गर्दा कस्तो फरक पाउनुभयो ?

विदेशी बिमा कम्पनीमा अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार काम हुन्छ । यहाँ लोकल चालचलन अनुसारका काम हुन्छ । मैले विगतमा काम गरेको एलीको इन्स्योरेन्स र हालको सिटिजन इन्स्योरेन्समा मेरो भूमिका फरक छ । बहुराष्ट्रिय कम्पनीलाई कतिपय लोकल कामहरू गर्न अफ्ठयारो छ । त्यस्तै, लोकल कम्पनीले कतिपय अवस्थामा विदेशीहरूसँग पनि काम गर्नुपर्ने हुन्छ । सोही कारण केही कुराहरू मल्टिनेसनल कम्पनीलाई गर्न सजिलो छ भने केही कुरा लोकल कम्पनीहरूलाई गर्न सजिलो हुने रहेछ । काम गर्ने तौरतरिकामा धेरै फरक हुन्छ ।

सिटिजन लाइफ सञ्चालनमा आएको ३ वर्ष बितिसकेको छ । कम्पनीको अवस्था कस्तो छ ?

समग्रमा हामी नयाँ जीवन बिमा कम्पनीहरूको तुलनामा बलियो छौं । हाम्रो कम्पनीका धेरै सूचकहरूको अवस्था राम्रो छ । नाफा, ग्राहकहरूलाई दिने सेवा तथा लगानीकर्ताहरूलाई दिने बोनस र समग्रमा कम्पनीसँग जोडिएकाहरू सबैलाई दिनुपर्ने प्रतिफलका कुरामा हामी राम्रो स्थानमा छौं । 
कम्पनीले व्यावसायिक योजना बनाएको छ । आगामी ५ वर्षमा सिटिजनले कहाँ पुग्ने लक्ष्य लिएको छ ?

नयाँमध्ये सबैभन्दा उत्कृष्ट कम्पनी हुने हाम्रो योजना छ । सूचक सबै बलियो बनाउँदै पुरानो कम्पनीहरूको टक्करमा जाने सिटिजनको लक्ष्य छ । यस्तै हामीले ५ वर्षमा  बिमा कोष, बिमा शुल्क कति बनाउने भन्ने लक्ष्य निर्धारण गरिसकेका छौं । हाम्रो ५ वर्षे रणनीतिमा कोरोना महामारीले केही प्रभाव पारेको छ ।

समग्रमा  हेर्दा कसरी व्यवसाय वृद्धि गर्ने भन्ने लगायतका कुरामा केही अलमल भयो । सोही कारण ५ वर्षे बिजनेस प्लानअनुसार काम गर्न केही चुनौती छ । तर, चुनौती भए पनि हामीले आफ्नो निर्धारित लक्ष्य पूरा गर्नेछौं । कोरोना महामारी विस्तारै रिकभर भएको अवस्थामा हामीलाई त्यति धेरै चुनौती पनि छैनन् ।

कोरोना महामारीका बीचमा पनि बिमा कम्पनीहरूको व्यवसाय बढेको देखिन्छ ? महामारीले सिटिजनलाई कत्तिको फाइदा पुर्याएको छ ?

कोरोना महामारीले फाइदा पुर्याएको होइन । कोरोना महामारी नआएको भए बिमा व्यवसाय अझ वृद्धि हुन्थ्यो । अन्य क्षेत्रको व्यवसाय वृद्धि भएन । कतिपय व्यवसाय ठीकै चले, कति चल्नै सकेनन् । यस्तो अवस्थामा बिमा व्यवसाय भने राम्रैसँग वृद्धि भएको छ । कोरोना महामारी नभएको भए बिमा कम्पनीहरूको व्यवसाय अझ वृद्धि हुन्थ्यो । जहाँ–जहाँ चुनौती हुन्छ, जोखिम बढ्छ त्यस्ता दुःख परेको ठाउँमा काम लाग्ने भनेको बिमा नै हो । कोरोना महामारीको बेलामा पनि देशलाई दुःख पर्यो, देशलाई गाह्रो भयो ।  त्यस्तो अवस्थामा विश्वमा काम लाग्ने कुनै पनि एउटा चिज छ भने त्यो बिमा नै हो । 

गाह्रो साह्रो पर्दा सरकारले हेर्छ कि त बिमा कम्पनी नै चाहिन्छ । व्यक्तिलाई गाह्रो पर्दा विभिन्न उद्योग धन्दामा क्षति हुँदा बाढी आउँदा बिमाले नै हेर्ने हो । जब जोखिम बढ्छ त्यति बेला इन्स्योरेन्सको बजारले पनि सकारात्मक सन्देश दिन्छ ।