माथिल्लो चमेलिया आयोजना बनाउन तेस्रो पटक हकप्रद सेयर निष्कासनको तयारीमा अपी पावर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,०९:३९:AM  
माथिल्लो चमेलिया आयोजना बनाउन तेस्रो पटक हकप्रद सेयर निष्कासनको तयारीमा अपी पावर

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

पहिलो चरणमा ०.४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको अपीले दोस्रो हकप्रद सेयर निष्कासनको तयारीमा लागेको छ । दोस्रो हकप्रद सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । दोस्रो हकप्रद बाँडफाँड भएपछि तेस्रो हकप्रद पनि आउने कम्पनीका अध्यक्ष सतिश न्यौपानेले बताए । 

अपीले गएको मंसिरमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गरिसकेको छ । पहिलो चरणको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भइसकेको छ । यसपछि अपीको चुक्तापुँजी बढेर १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

यो पनि हेर्नुहोस 
अपी पावर कम्पनीले दोस्रो पटक हकप्रद सेयर निष्कासन गर्ने 

चुक्तापुँजीको २९ प्रतिशत अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता दोस्रो हकप्रद सेयर निष्कासन गर्न लागेको हो । दोस्रो हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्नेछ । 

आयोजनालाई थप लगानी जुटाउन कम्पनीले तेस्रो हकप्रद सेयर निष्कासन गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए । उनले ०.४० प्रतिशतको अनुपातमा ६० करोड रुपैयाँ बढीको हकप्रद सेयर आउनेछ ।

तेस्रो हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब रुपैयाँ पुग्नेछ । आयोजना बनाउन अब १ अर्ब ३७ करोड रुपैयाँ स्वपूँजी चाहिने उनले जानकारी दिए । कम्पनीले ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाहरुबाट साढे १६ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेको छ । 

माथिल्लो चमेलिया आयोजना बनाउन ७ अर्ब ४० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । जसअनुसार ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी हिमालयन बैंकको अगुवाईमा ५ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी सम्झौता भइसकेको छ ।

आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने्छ । आयोजनाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी बलाँच सवस्टेशनमा जोडिने छ ।

अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । विद्युत विकास विभागबाट पनि विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेको छ । माथिल्लो चमेलियसहित ३ ओटा आयोजनाबाट अपीले ५६.५ मेगावाट बिजुली उत्पादन गर्नेछ ।

चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ । बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ । २०४ मिटरबाट पानी खसालेर ४० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top