काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
स्वदेशमै रोजगारी दिलाउने र विदेशमै जानुपरे पनि सीप सिकेर जाउन भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको भनाइ छ ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्तबहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डलसँगको भेटमा सीपमूलक तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
महासंघको प्रतिनिधिले पनि सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । सभापति ढकालले एकातिर मुलुकभित्र सञ्चालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर बिना कुनै सीप कामका लागि बिदेसिने युवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि सीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सीपमूलक तालिमका लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठूलो रकम खर्च हुने गरे पनि निजी क्षेत्रको मागअनुसार दक्ष एवं सीपयुक्त जनशक्ति पाउन कठिनाइ भइरहेको कुरा सो अवसरमा उठाइएको थियो ।
मन्त्री चौधरीले निजी क्षेत्रको सुझावअनुसार सीपमूलक तालिम सञ्चालन गर्ने सरकारको योजना रहेकाले महासंघबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।