काठमाडौं । होटल एसोसिएसन अफ नेपाल(हान)ले पर्यटन क्षेत्रमा परेको असर र त्यसबाट बच्ने उपायको तालिम र प्रशिक्षण सुरु गरेको छ । सात वटै प्रदेशमा प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्धेश्यका साथ बुधबारबाट काठमाडौंमा सुरु गरेको हो ।
औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा भएको सामूहिक तथा सेवा शुल्कसम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषयक तालिम तथा प्रशिक्षण काठमाडौंबाट शुरु गरेको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विषम परिस्थितिमा पनि क्वारेन्टिनको लागि अग्रसर रहेर राज्यलाई सहयोग पु¥याएको भन्दै सराहना गरेका छन् । पछिल्लो समय होटल संघ नेपालको सुझाव तथा पहललाई सार्थक बनाउन सम्बन्धित निकायसँग विभागले पहल गरिरहेको पनि स्पष्ट पारे ।
हानका अध्यक्ष सृजना राणाले कोभिड–१९ को विषम परिस्थितिमा होटल उद्योग पनि बाँच्ने र कामदार तथा कर्मचारीहरुलाई पनि बचाउने उद्देश्यले होटल संघ नेपाल, तीनवटै केन्द्रीय ट्रेड युनियन र यस कार्यदलबाट भएको सहमति ऐतिहासिक कदम भएको बताइन ।
विस्तारै पर्यटन लयमा आउँदै गरेको अवस्थामा कसरी सुरक्षित तवरबाट स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर होटलहरु सञ्चालन गर्ने भन्ने यस किसिमको कार्यक्रमको शुरुवात आजबाट भएको हुँदा अव निरन्तर रुपमा सात वटै प्रदेश तथा क्षेत्रीय होटल संघमा कार्यक्रमहरु आयोजना गर्न कार्यदललाई निर्देशन दिएकी छन् ।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षालाई आत्मसाथ गर्दै मापदण्ड अनुसार होटलहरु सञ्चालन हुनपर्नेमा जोड दिए । कार्यदलका संयोजक तथा हानका महासचिव साजन शाक्यले कार्यदलको उद्देश्य र भावना बारे चर्चा गर्दै यस किसिमको कार्यक्रम अब मुलुकभर सातै प्रदेशमा आयोजना हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।