काठमाडौं । कोरोना भाइरस महामारीबाट थलिएको निर्माण क्षेत्र विस्तारै आफ्नो लयमा फर्किएको छ । अहिले सिमेन्ट तथा स्टिलको उत्पादन ९५ देखि १०० प्रतिशतसम्म पुगेको छ ।
गत वर्ष यही बेला पनि सतप्रतिशत क्षमतामा सिमेन्ट तथा स्टिल उत्पादन पुगेको थियो । कोरोना भाइरसका कारण सिमेन्ट तथा स्टिलको उत्पादन २० प्रतिशतमा झरेको थियो । विकास निर्माणको काम पनि शून्यमा झरेको र त्यही बेला सरकारले कोरोना भाइरस नियन्त्रण गर्न जारी लकडाउनले सिमेन्ट तथा स्टिलको उत्पादन न्यूनस्तरमा झरेको थियो ।
‘तर, अहिले गत वर्षको फागुनमा जति उत्पादन भइरहेको थियो, त्यही हाराहारीमा सिमेन्ट तथा स्टिलको उत्पादन पुगेको छ,’ अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘गत वर्षकै हाराहारीमा माग नभए पनि उत्पादन सोही स्तरमा पुगेको छ ।’
अहिले रिद्धिसिद्धि, अम्बेलगायत दर्जनााैं उद्योगको उत्पादन सतप्रतिशतमा छ । त्यसबाहेक अन्य उद्योगको उत्पादन पनि ९५ प्रतिशत क्षमतामा उत्पादन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सिमेन्ट तथा स्टिलको कच्चा पदार्थको मूल्य केही आकासिएकाले नेपालमा उत्पादित वस्तुको मूल्य बढेको छ । ‘तर, माग बढेकाले मूल्य बढेको भने होइन्,’ उनले भने, ‘मागमा त्यति ठूलो बढोत्तरी देखिएको छैन ।’
उत्पादनमूलक क्षेत्र शिथिल भएका बेला पनि नयाँ–नयाँ सिमेन्ट तथा स्टिल उद्योग थपिएका छन् । देशभित्र विकास निर्माणको काम तीव्र गतिमा अघि बढेपछि उद्योगीले यो क्षेत्रमा थप लगानी बढाइरहेका छन् । नयाँ उद्योग थप्नेक्रम जारी रहेसँगै भएका उद्योगले आफ्नो क्षमतासमेत विस्तार गरिरहेका छन् ।
खासगरी, मंसिर, पुस, माघ, फागुन र चैत उद्योगका लागि सिजन हो । त्यो बेला सबैखाले उद्योगहरु पूर्ण क्षमतामा चल्छन् । त्यसपछि अफसिजन लाग्ने गरेको उद्योगीहरु बताउँछन् ।
सरकारले सिमेन्टको बोरामा ४३ र ५३ ग्रेड लेख्न पाउने व्यवस्था गरेपछि सिमेन्ट उद्योगीमा उत्साहसमेत बढेको छ । नेपाली सिमेन्टको गुणस्तर अन्तर्राष्ट्रियस्तरको भए पनि अहिलेसम्म ३३ ग्रेडभन्दा माथि लेख्न पाउने व्यवस्था थिएन् । तर, अहिले सरकारले ४३ र ५३ ग्रेड लेख्न सक्ने कानुनी व्यवस्था गरेपछि यो क्षेत्र थप फस्टाउने उद्योगीहरु बताउँछन् ।
अहिले नेपालमा २३ वटा क्लिङकरसहितका सिमेन्ट उद्योग सञ्चालनमा छन् । ३० वटा ग्राङडिङ युनिट छन् । त्यसैगरी २ दर्जनभन्दा बढी स्टिल उद्योग छन् ।