काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असरले हेलिकप्टर कम्पनीहरु पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । विशेष गरेर विदेशी पर्यटकहरुसँग आत्मनिर्भर रहने हेलिकप्टर कम्पनीहरु पर्यटक नआएकै कारण समस्यामा परेको बताउँछन् ।
हाल हेलिकप्टर सञ्चालन नगर्ने कम्पनीमा एयर डाइनेष्टी र फिस्टेल एयर हुन् । सञ्चालनमा रहेका कम्पनीहरु पनि अहिले वित्तीय संकटमै छन् । सरकारले हेलिकप्टर र एयरलाइन्सहरु सञ्चालनको लागि यसअघि नै अनुमति दिइसके पनि अहिलेसम्म ती दुईवटा हेलिकप्टर कम्पनी ले उडान भरेको छैन ।
उडान भरेका कम्पनीहरुमा समेत तीव प्रतिस्पर्धा छ । जसका कारण कम शुल्कमै उद्धार उडानहरु गर्दै आएका छन् । केही कम्पनी बाहेक अधिकांश अहिले धरासायी बनेका छन् । संकटकै कारण हेलिकप्टर कम्पनीहरुमा सञ्चालकहरु हेरफेर समेत भइरहेका छ । कति कम्पनीले पूर्ण रुपमा कर्मचारीहरुलाई समेत बोलाइसकेका छैनन् ।
अवस्था सामान्य हुँदै गए पनि विदेशी पर्यटकहरु नआएकै कारण हेलिकप्टर कम्पनीहरुले पर्याप्त मात्रामा यात्रु नपाएको बताउँदै आएका छन् । सञ्चालनमा नरहेका हेलिकप्टरको पनि बिमा र पार्किङ शुल्क तिर्न नै समस्या भइरहेको व्यवसायीहरुको गुनासो छ ।
यति हुँदाहुँदै पनि हेलिकप्टर क्षेत्रमा लगानी बढाउन व्यवसायीहरु तम्सिरहेका छन् । कोभिडकै बीचमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न त्रिलोक एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति लिइसकेको छ । त्रिलोकसँगै अन्य पाँच/छ वटा एयरलाइन्सहरुले समेत चासो देखाइरहेका छन् ।
सेवा सञ्चालनका लागि कम्पनीहरुले दर्ताको काम अघि बढाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ती कम्पनीका प्रतिनिधिहरु आएर हेलिकप्टरको विषयमा सोधखोज गर्नेको संख्या बढेको बताउँछन् ।
भएका कम्पनीहरु समस्यामा परिरहेको बेला नयाँ कम्पनीहरुले किन चासो देखाइरहेका छन् ? भन्ने प्रश्न यति बेला सबैले गरिरहेका छन् । कोभिडको महामारी चलिरहेकै बेला करोडौ रुपैयाँ लगानी गरेर हेलिकप्टर कम्पनी सञ्चालन गर्न त्यति सहज छैन । तैपनी धेरैले चासो देखाइरहेका छन् ।
यस विषयमा हेलिकप्टर र उड्डयन क्षेत्रका जानकार योगराज कँडेल भन्छन्, ‘अहिलेको लागि भन्दा सन् २०२२ पछिको अवस्थालाइ मध्यनजर गरेर हेलिकप्टरमा लगानी बढाउन खोजिएको हो । विश्वमा जति महामारी र प्रकोपहरु भएका छन्, तीनको प्रभाव बढीमा दुई वर्षको हुने रैछ,अहिले कोभिडको पनि त्यहि प्रक्षेपण गरी नयाँ कम्पनीहरु आउन लागेको हुन सक्छ,’ उनले भने ।
पुराना कम्पनीहरु जसोतसो सञ्चालनमा त्यो बेलासम्म रहन्छ तर,नयाँको लागि अहिले लाइसेन्स लिएर प्राधिकरणका लागि अनुमति लिन ६ महिना लाग्ने र त्यो बेलासम्ममा एउटा भए पनि हेलिकप्टर ल्याएर सञ्चालन गर्ने उद्धेश्य धेरैको देखिएको छ ।
पुराना कम्पनीहरुको सञ्चालन गर्न धेरै खर्च हुन्छ । तर, नयाँलाई अहिलेनै कर्मचारीहरु राख्न नपर्ने र अबको १ वर्षपछि सञ्चालनमा ल्याउने गरी तयारी गर्दा खर्च समेत बच्ने भएकोले यीनै विषयलाई मध्यनजर गरेर नयाँ लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको देखिन्छ ।
अहिले १० वटा हेलिकप्टर सञ्चालनमा रहेको छ भने एउटा सञ्चालनको अन्तिम तयारीमा छन् ।