काठमाडौं । यो साताको कारोबारमा बजारका महत्वपूर्ण सूचकहरुमा गिरावट आएको छ । गत साताको तुलनामा यो साता कुल कारोबार कित्तामा वृद्धि भएपनि अन्य सूचकहरु भने घटेका हुन् । साताको पाँच कारोबार दिनमा यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बढेको छ ।
यद्यपी गत साताभन्दा नेप्से परिसूचक ८२ दशमलव ५५ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन फागुन ६ गते २ हजार ६३६ दशमलव ६८ विन्दुमा रहेको बजार या साताको अन्तिम कारोबार दिन फागुन १३ गते २ हजार ५५४ दशमलव १३ विन्दुमा झरेको हो ।
साताको पहिलो कारोबार दिन ३ दशमलव ६६ अंकले बढको बजार चौथो कारोबार दिन १२ दशमलव ५६ अंकले बढेको थियो । यो साता कारोबारको दोस्रो दिन ३२ दशमलव ६७ अंक, तेस्रो दिन २१ दशमलव १६ अंक र पाँचौं दिन ४४ दशमलव ९४ अंकले बजार घटेको हो । कारोबारको चौंथो दिन नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिएपनि उक्त दिन दोहोरो अंकले बजार बढेको थियो ।
उच्च अंकले बढ्दै गएको बजारमा नाफा बुक गर्नेहरु सक्रिय भएको ब्रोकरहरुको भनाइ छ । साथै यो साता बजारमा सर्वाधिक कित्ता शेयर रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबारले पनि बजारलाई प्रभावित बनाएको जानकारहरु बताउँछन् ।
लगातार सातौं कारोबार दिनसम्म उच्च दरले बढेको नेपाल इन्फ्रस्ट्रक्चर बैंक (निफ्रा) को शेयर आठौं कारोबार दिन मंगलवारदेखि भने विक्री चापका कारण घटेको छ । यो साता सर्वाधिक रकमको शेयर कारोबार गरेको निफ्राको शेयर विक्री चापकै कारण पनि नेप्से परिसूचकमा केहि असर परेको अनुमान जानकारहरुले लगाएका छन् । साथै बैंकमा तरलता कम हुँदै गएको र ब्याजदर बढ्ने हल्लाका कारण पनि लगानीकर्ताहरु नाफा सुरक्षित गर्न सक्रिय भएको देखिन्छ ।
यद्यपी बैंकहरुले व्याजदर बढाएको अवस्था भने छैन । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १९ दशमलव ९७ अंक तल झरेर ४६१ दशमलव ८१ विन्दुमा रहेको छ ।
यो साता कारोबार रकम पनि गत साताभन्दा रू. ५ अर्ब ५४ करोड २३ लाख ४५ हजार कम भएको छ । गत साता रू. ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको हो ।
गत साताभन्दा कारोबार कित्ता भने ३८ लाख ५० हजार ५२० कित्ता बढी भएको छ । गत साता ९ करोड २६ लाख ६६ हजार ३५३ कित्ता शेयर कारोबार भएकोमा यो साता ९ करोड ६२ लाख १६ हजार ८७३ कित्ता शेयर खरिद विक्री भएको हो ।
यो साता सर्वाधिक रकमको शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको छ । यस कम्पनीको रू. ३ अर्ब ७ करोड ६० लाख ४० हजार बराबरको शेयर कारोबार भएको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक पछि दोस्रोमा नेपाल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । यो साता नेपाल बैंकको रू. १ अर्ब ९४ करोड ९० लाख ८८ हजार बराबरको शेयर खरिद विक्री भएको हो ।