काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता हुने भएको छ । यती एयरलान्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको हो ।
यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘पर्यटन व्यवसायी स्व. शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौं’, प्रवक्ता बर्तौैलाले भने ।
यती एयरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरूमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।
उक्त प्रतियोगितामा रजिस्टे«सन शुल्कमार्फत संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।
प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनर्सअप, महिलातर्फको विजेता र रनर्सअप, भेट्रान तर्फका सिजेता, जुनियरतर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै ५ लाख रुपैयाँको धनराशि बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरूले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरूले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।
जसमा एयर डाइनेस्टी, हिमालय एयरलाइन्स, यती एयरलाइन्स, तारा एयर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एण्ड डाउनी छन् । टुर्नामेन्टको मुख्य आयोजकको रुपमा यती एयरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट छन् ।
यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २७ फेब्रुअरी २०१९ अर्थात् वि.सं. २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । स्व. शेर्पालाई गल्फमा विशेष रुचि र लगाव थियो । नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान दिएका स्व. शेर्पाको यस क्षेत्रमा छुट्टै छाप र परिचय रहेको थियो ।