काठमाडौं । सामान्यतया सेयर बजार माग र आपूर्तिको आधारमा चलायमान हुन्छ भनिन्छ । सेयरको माग बढी हुँदा आपूर्ति कम भने सेयर मूल्य बढ्ने र आपूर्ति बढी हुँदा सेयरको माग कम भएमा मूल्य घट्ने हुन्छ ।
यस विपरित साताको पहिलो दिन आइतबार केही कम्पनीहरुको माग र आपूर्तिलाई विश्लेषण गर्दा बिक्री भन्दा खरिद अधिक हुँदा पनि सेयर मूल्य घटेको छ । त्यसको असर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परेको छ ।
कारोबार सुरु भएको डेढ घण्टामा नपुग्दै नेप्से परिसूचक ७३ अंकले घटिसकेको छ । मध्यान्ह अघिसम्म जम्मा ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यसमध्ये चन्द्रागिरी हिल्सको करिव १० प्रतिशत बढेको छ ।
यस्तै शिखर इन्स्योेरेन्सको सेयर मूल्य ३ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूहमा सूचिकृत चन्द्रागिरी समूह सूचक पनि बढेको छ । २७ प्रतिशत बोनस सेयर र त्यसपछि कायम हुने चुक्तापुँजीमा ३० प्रतिशत हकप्रद सेयर निष्कासनको घोषणा गरेको शिखरको ३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
उता सिटिजन्स म्युचअल फण्ड २ को १ प्रतिशतले मूल्य बढ्दा गुराँश लघुवित्त, एनएलजी इन्स्योरेन्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको १ प्रतिशत भन्दा कम मूल्य बढेको छ । त्यस बाहेक आइतबार कारोबारमा आएका करिव २०० कम्पनीको सेयर मूल्य भने घटेको छ ।
कारोबारको दौरान हेरिएका केही कम्पनीहरुको माग र आपूर्तिलाई हेर्दा धेरैजसो कम्पनीहरुको खरिद चाप बढ्दा पनि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) एसियन लाइफ इन्स्योरेन्स, प्रभु बैंक, एनएमबी बैंक, स्ट्ण्याण्डर्ड चार्टड एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैकलगायतको माग बढी हुँदाहुँदै पनि सेयर मूल्य घटेको छ ।