काठमाडौं । साताको पहिलो दिन धितोपत्रको कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आइतबार कारोबारको सुरुवात भएसंगै निरन्तर गिरावट हुन थालेको बजार अन्तिम समयसम्म घटेर कारोबार बन्द भएको छ ।
यद्यपी कारोबार अवधिमा नेप्सेले २ वटा भी आकार प्रस्तुत गरेर बढ्न कोशिस गरेको थियो । तर, त्यो कोसिस व्यर्थ भयो । गत बिहीबार २५५४ अंकमा रोकिएको नेप्से परिसूचक आइतबार कारोबार खुल्नासाथ २५५८ मा पुगेको थियो । कारोबार बन्द हुँदा ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा रोकिन पुगेको छ ।
आइतबार अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । यद्यपी चन्द्रागिरी हिल्सको करिव १० प्रतिशतले सेयर मूल्य बढेको छ । शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, साल्ट ट्रेडिङ, सगरमाथा इन्स्योरेन्ससहित केही ऋणपत्र र म्युचअल फण्डको सामान्य मूल्य बढ्ने बाहेक अन्य कम्पनीको मूल्य घटेको छ ।
यद्यपी, सेयर मूल्य घट्दा पनि कुनै पनि कम्पनीको सेयर मूल्य घट्नु पर्ने तहसम्म पुगेको छैन । गणपति माइक्रोफाइनान्स, नेपाल फाइनान्सको सेयर मूल्य ७ प्रतिशत केही बढीले घटेको छ भने अन्य सबै कम्पनीहरुको सेयर मूल्य ७ प्रतिशत भन्दा कमले घटेको छ ।
सेयर मूल्य घट्ने क्रममा तेस्रो रहेको नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को साढे ६ प्रतिशतले घटेको छ । चन्द्रागिरी हिल्सलाई अन्य समूहबाट सारेर होटल समूहमा राखेपछि होटल र पर्यटन समूहको सेयर सूचक १४ अंकले बढेको छ भने बाँकी १२ वटै समूह सूचकहरु घटेका छन ।
निफ्रालाई लगानी समूहमा राखेर बनाइएको इन्भेस्टमेन्ट समूह पनि ४ अंकले घटेको छ । सबैभन्दा धेरै जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनमूलक समूह र लघुवित्त समूह सूचक सबै भन्दा धेरैले घटेको छ । बजार पुँजीकरणका आधारमा सबैभन्दा बढी ३० प्रतिशत हिस्सा ओगटने बैंकिङ समूह पनि ५५ अंकले घटेको छ । जसले गर्दा समग्र सेयर बजार ओरालो लाग्न पुगेको छ ।
गत साताको अन्तिम दिनतिर कारोबार रकम ह्वातै घटेर ६ अर्बमा खुम्चिएकोमा आइतबार औसतमा फर्किएको छ । आइतबार ८ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसले सेयर बजारमा लगानीकर्ताहरुलको विश्वासलाई डगमगाउन दिएको छैन । खासगरी यो समय सेयर खरिदबिक्रीमा सक्रिय हुँदा लगानीकर्ताले खासै प्रतिफल पाउँदैनन् ।
अधिकाँश कम्पनीहरले लाभांश दिइसकेका छन । अहिले खरिदको सेयरको लाभांश पाउन पनि कम्तिमा ६ महिना कुर्नुपर्छ । केही अपवादलाई छाड्ने हो भने अधिकाँश कम्पनीले लाभांश घोषणासमेत गरेका छैनन्, दिइसकेका छन । केहीले लाभांश घोषणा गरेर साधारणसभाको चटारोमा छन । जसले लाभांश वितरण गरे चालु वर्षको नाफाबाट लाभांश पाउन आगामी भदौसम्म कुर्नुपर्छ ।
त्यसैले यो समयलाई लगानीकर्ताले थारो गाई पालेको उपमासमेत दिने गर्छन । यसलाई मौसमी ट्रयापका रुपमा समेत बुझन सकिन्छ । माघदेखि बैशाखसम्म सेयरबाट प्रतिफलको आशा नगरिने भएकाले सामान्य उचारचढावबाट फाइदा लिन सक्रिय लगानीकर्ता क्रियाशिल हुन्छन । घटेको बजारबाट फाइदा लिन त्यस्ता समूहले अनेक तिकड्म गर्छन । यसले गर्दा यो साता नै बजार ‘बाउन्सब्याक’ भएर पूर्ववत उच्च अंकलाई नपच्छ्याउला भन्न सकिन्न ।
अर्कोतिर प्रतिनिधिसभा पुनस्र्थापना भएसंगै राजनीतिक अन्यौलता कायमै छ । यो सरकारले निरन्तरता पाउँछ भन्ने संकेत देखिएको छैन । यस्तो बेला लगानीकर्ता पर्ख र हेराको अवस्थामा हुन्छन । विगतमा नयाँ निर्वाचन हुन्छ भनेर हौसिएका लगानीकर्ता पुनस्र्थापना भएसंगै निराशाको चरणमा प्रवेश गरेका छन ।
विगतमा प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले अन्य क्षेत्रमा लगानीको वातावरण नभएको भनेर सेयर बजारमा प्रवेश गरेका लगानीकर्ता पुनः नयाँ क्षेत्रमा लगानीमा लाग्नुपर्ने अवस्था सिर्जना भएकाले उनीहरु पर्ख र हेरको अवस्थामा छन ।
लगानीको वातावरण बन्यो भने ब्याजदरमा चाप पर्न सक्छ । अहिले न्यून विन्दुमा रहेको ब्याजदर पुनः बढ्ने हो कि भन्ने आशंका लगानीकर्ताको छ । लगानीयोग्य रकम (तरलता) को स्थितीमा विस्तारै चाप पर्दै गएपछि ब्याजदर स्वभाविक रुपमा बढ्नसक्छ ।
त्यसको मनोवैज्ञनिक असर लगानीकर्तामा छ । जसले सेयर बजार घटाउनलाई ठूलो मद्दत पुर्याइरहेको छ । आइतबार शिखर इन्स्योरेन्स, निफ्रा र ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।